काठमाडौं, २२ फागुन । कोरोनाभाइरसको संक्रमणका कारण चीनबाट नेपाल आउने उडान संख्यामा उल्लेख्य कमी आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार जनवरीको सुरुमा हप्तामा ६५ चिनियाँ विमानको उडान भइरहेकोमा अहिले ६÷७ वटामात्रै आउने गरेको छ । हङ्कङबाट पनि महिनामा ३५ वटा आउने गरेकामा पाँचवटा उडान रद्द गरिएको उनले बताए ।
चीनबाट आउने चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान, हिमालयन एअरलाइन्स र एअर चाइनालगायत सबै वायुसेवाको उडान प्रभावित भएको छ । प्रवक्ता कर्णले अन्य देशबाट आउने उडानहरू भने अहिलेसम्म प्रभावित नभएको बताए । चीनको वुहान सहरमा डिसेम्बर महिनाको अन्तिममा देखा परेको नयाँ कोरोनाभाइरस कोभिड–१९ बाट ८० मुलुक प्रभावित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
चीनबाहेक दक्षिण कोरियामा सबैभन्दा धेरै सङ्क्रमण देखिए पनि त्यहाँबाट आउने कुनै पनि उडान भने अहिलेसम्म प्रभावित नभएको कर्णले बताए ।
तपाईको प्रतिक्रिया