चार नाकाबाट मात्रै आवत–जावत गर्न पाइने

समाचार

3/14/2020

काठमाडौं, १ चैत । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका चार नाकाहरु मात्र खुला गरेको छ । अब बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेकका नाकाहरुबाट आवतजावत गर्न पाइने छैन ।

आइतबार राति १२ बजेदेखि उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकाबाटमात्रै आवतजावत हुनेछ । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् ।

भारतको गृहमन्त्रालयकाअनुसार भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ । तर तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् । प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।

कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको हो । कोरोना संक्रमणका कारण भारतले नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गरेको हो । भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ ।

भारतले पर्यटक भिसा बन्द गर्ने र कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ