काठमाडौं, २९ मंसिर । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको नाम मधेश प्रदेश छिट्टै नै घोषणा हुने दाबी गरेका छन् ।
प्रदेशको नामाकरणका लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको अन्तिम चरणमा रहेको र संसद सुचारु भएलगत्तै प्रदेशको नामाकरण घोषणा हुने उनले बताए ।
आइतबार राजधानी मधेशी पत्रकार समाज नेपालले मन्त्री यादवको सम्मानका लागि आयोजना गरेको विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।
प्रदेश २ का सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव गरेको छ भने नेकपाले जानकी र कांग्रेसको एक पक्षले मिथिला भोजपुरा र अर्को पक्षले मध्यमधेश प्रस्ताव गरेका छन् ।
मधेश प्रदेशमा कांग्रेसका अधिकांश सांसदहरुको सहमति रहेको र नेकपाका सांसदहरु पनि सकारात्मक रहेको उनले जानकारी दिँदै भने, ‘अब संसद सुरु हुने बित्तिकै नामको टुंगो लाग्छ र मधेश प्रदेश नै हुन्छ ।’
उनले राजधानीको सवालमा सबै दलहरु लगभग सहमति नजिकरहेको समेत जानकारी गराएका छन् । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै रहने उनले बताए ।
यसैगरी, उनले प्रदेश २ को सरकारले सञ्चारमैत्री विधेयक ल्याउन लागेकोसमेत बताए । सञ्चार क्षेत्रलाई प्रदेश सरकारले कुनै किसिमको रोक नलगाउने बताएका हुन् ।
उनले प्रदेश २ मा सबभन्दा बढी भ्रष्टाचार रहेको बताउँदै प्रदेश सरकारले भ्रष्टाचार विरुद्धमा कडा विधेयकहरु ल्याउन लागेको जानकारी दिएका छन् । उनले समग्र नेपालले नै भ्रष्टाचारमा डुबेकोले प्रदेश २ त्यसबाट अछुतो रहन नसकेको बताए ।
प्रदेश सरकारले प्रदेशको समग्र विकासका लागि विभिन्न क्षेत्रहरुमा गहन अध्ययन गरिरहेको जनाएका छन् । प्रदेश २ को समृद्धिबाट नै देशको समृद्धि हुनेसमेत उनले ठोकुवा गरेका छन् ।
संघीयतालाई कमजोर गर्न केन्द्र सरकारले नै संविधान विपरीत कामहरु गरिरहेको आरोप लगाउँदै संघीयतालाई संस्थागत गर्न प्रदेश २ ले जुनसुकै संघर्ष गर्न तयार रहेको बताए ।
तपाईको प्रतिक्रिया