वीरगन्ज, ३ माघ । प्रदेश २ सरकारले बाराका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत बाराका ६ विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको हो ।
बाराको कलैयास्थित पन्नादेवी कन्या माविमा प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले छात्राहरुका लागि विद्यालयका प्रधानाध्यापकहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरे ।
बाराको कलैया ५ को पन्ना देवी कन्या मावि, महागढीमाइ १ को गढीमाइ महेन्द्र प्राविधिक नमुना मावि, निजगढ ८ को गौरीशंकर मावि, पचरौता १ को नेपाल राष्ट्रिय मावि, कोल्हबी ११ को मणि मावि र जितपुर सीमरा २ को नेपाल राष्ट्रिय माविमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराइएको हो ।
प्रत्येक विद्यालयका लागि ९६ थानका दरले कूल ५ सय ७६ थान सेनेटरी प्याड वितरण गरिएको छ । कार्यक्रममै मन्त्री सोनलले कलैयाको पन्ना देवी कन्या माविमा अध्ययनरत ३० जना छात्रालाई स्कुल ब्याग पनि वितरण गरेको उनले बताए ।
सो अवसरमा मन्त्री सोनलले बाराको कलैया उपमहानगरपालिका १ मा रहेको श्री ३ चन्द्र उच्च माविलाई प्रदेश २ सरकारले ५० लाख रुपैयाँ दिने पनि गरे । विद्यालयको स्थलगत अनुगमन गर्दै उनले भौतिक संरचना पुर्न निर्माणका लागि ५० लाख रुपैया उपलब्ध गराउने घोषणा गरेका हुन् ।
तपाईको प्रतिक्रिया