काठमाडौं, ५ असार । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउबाट गत चैत १५ देखि बन्द रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरको पट (मुलढोका) ८१ दिनपछि खुलेको छ ।
कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि भक्तजनहरुको भीडभाडलाई लिएर बन्द भएको जानकी मन्दिरको पट आंशिक रुपमा लकडाउन खुल्ला गर्ने सरकारको निर्णयपछि खुलेको छ । जानकी मन्दिरको मुलढोका खुलेपछि जानकीको दर्शनका लागि श्रद्धालु भक्तजनहरुको भीड बढेको छ ।
लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द रहेको थियो ।
श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र रहेको जानकी माताको दर्शनको लागि लामो समयसम्म रोकटोक गर्न नमिल्ने हुनाले व्यवस्थित रुपमा भीडभाड नहुने गरी दर्शनका लागि मन्दिरको पट खोलिएको महन्त रामरोशन दासले जानकारी दिए ।
तपाईको प्रतिक्रिया