काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । लतिलपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको जपसा पदाधिकारी बैठकले संशोधन सम्बन्धि प्रक्रियामा पक्षमा उभिने निर्णय गरेको हो ।
बैठकले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।’
सोही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । तर, जसपाले प्रस्ताव फिर्ता नलिए उनलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
गिरीले नेपालको नयाँ नक्साका विषयमा आपत्तिजनक र विवादित बयान दिँदै आएकी छिन् । उनीमाथि कारवाही गर्न उनकै पार्टीभित्रबाटसमेत आवाज उठेको छ ।
जेठ १९ मा राजपा र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए । अहिले संसदमा राजपा र समाजवादी भिन्दाभिन्दै अस्तित्वमा छन् । दुवै दलले यसबारे भिन्दै निर्णय लिनेछन् ।
प्रतिनिधिसभामा शनिबार संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया