दुई देशबीचको धार्मिक एकता कायम राख्न महासंघको आग्रह

समाचार

7/22/2020

काठमाडौं, ७ साउन । मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मस्थल अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण हाल नेपाल भारत लगायत संसारभरिका धार्मिक तथा आध्यात्मिक संघसंस्थाहरु र हिन्दु ओमकार परिवारका बीचमा उत्पन्न परिस्थितिबारे विश्वहिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

युगौंदेखिको अविछिन्न रूपमा स्थापित नेपाल–भारत सामाजिक सांस्कृतिक धार्मिक तथा आध्यात्मिक सम्बन्धलाई अक्षुण राख्दै संसारको एकमात्रै देवभूमि तथा तपोभूमी नेपालसँग हाम्रा धार्मीक ग्रन्थहरुले निर्देशन गरे अनुरुप मिथिला तथा अयोध्याको सम्बन्ध स्पष्ट रहेको हुँदा उक्त विषयको तथ्य प्रमाणिकताका आधारमा अघि बढ्नु आवश्यक रहेको महासंघकी महासचिव अस्मिता भण्डारीले विज्ञप्तिमार्फत् जनाएकी छन् ।

महासचिव भण्डारीले विज्ञप्तिमा भनेकी छन्, ‘यस हाम्रा वेद, पुराण, उपनिषद, रामायण तथा पौराणीक धार्मिक ग्रन्थमा उल्लेखित तथा निर्देशित मूल्य, मान्यता, परम्परा अनुरुप ओमकार परिवार यस विषयका ज्ञाता, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका धर्मगुरुहरु र पुरातत्त्वका विज्ञहरुकाबीच गहिरो छलफल तथा अध्ययन अनुसन्धान गरिनु पर्दछ ।’

अतः धर्म–संस्कृति र अध्यात्म जस्ता अति संवेदनशील भावनात्मक विषयहरुमा दुवै देशबीचको भाइचारा मित्रता प्रेम र आपसी सद्भावलाई कायम राख्दै धार्मिक सांस्कृतिक एकतामा आँच आउन नदिन सबै पक्ष बीच समझदारी कायम गरी सजगता अपनाइ अगाडि बढ्नका निम्ति विश्वहिन्दु महासंघले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ