दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप

समाचार

4/17/2020

काठमाडौं, ५ बैशाख । सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।

सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ ।

यसअघि सीमा क्षेत्रमा नियमित १२२ सीमा निगरानी पोष्ट (विओपी) मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए । रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता पाँच हजार सुरक्षाकर्मी सीमामा पठाइएकामा अहिले त्यसलाई बढाएर आठ हजार पु¥याइएको जनाइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आजसम्म सातभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो । आज मात्रै थप एक हजार १०५ जना सुरक्षा फौजलाई सीमामा पठाइएको जनाइएको छ । योसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको आठ हजार ३३८ सुरक्षाकर्मीले निगरानी थालेका छन् ।

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएको थियो । आठ हजार ३८३ थप भएसँगै कुल २२ हजार ६४६ सुरक्षाकर्मीले सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरीले माग गरेजति जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिँदै अब सीमा क्षेत्रको आवागमनमा थप कडाइ भएको बताए ।

उनले नेपाल प्रहरीले जिल्ला र इलाका क्षेत्रको आआफ्नै क्षेत्रबाट सुरक्षा प्रदान गरिरहेको बताए । अहिले सीमा क्षेत्रको सुरक्षाको पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ