नयाँदिल्ली, ५ पुस । भारतले कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेपछि नेपालमा यसको विरोध भइरहेका बेला नयाँदिल्लीमा त्यसबारे छलफल भएको छ ।
‘बदलिँदो परिप्रेक्षमा नेपाल–भारत सम्बन्धका आयामहरू’ विषयमा अन्तरक्रिया आयोजना भएको छ । भारतीय पूर्वराजदूतवासहरुका साथै नेपाली राजदूत नीलाम्बर आचार्य, भारतका तर्फबाट प्राध्यापक एसडी मुनी, नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य एवं पूर्वराजदूत जयन्त प्रसाद, अर्का पूर्वराजदूत रञ्जित रे पनि सहभागी थिए ।
कार्यक्रममा बोल्दै प्राध्यापक एसडी मुनीले प्रधानमन्त्रीस्तरमै सीधा सम्वाद हुने आजको कूटनीतिक अभ्यासमा कुनै विषयमा विज्ञ या रिटायर्ड अधिकारीले के बोल्छ भन्ने कुरालाई सम्बन्धको आधार बनाउन नहुने बताए ।
नेपाली पक्षजस्तै भारतीय पक्षसँग पनि डकुमेन्ट हुन सक्नेतर्फ इंगित गर्दै उनले सीमा विवादलाई उग्र राष्ट्रियताको विषय बनाउन नहुने बताए ।
संकुचित राष्ट्रवादले कुनै देशको भलो नगरेको इतिहास कोट्याउँदै यसमा दुवै देश सचेत हुनुपर्ने र छलफलबाटै समस्याको समाधान निक्लिने मुनीले धारणा राखे । उनले कालापानीलाई उत्तेजना र मनोरञ्जनको विषय बनाउने काम राम्रो नभएको बताए ।
त्यस्तै, कांग्रेस नेता नेता वशिष्ठले भारतीय राष्ट्रिय कांग्रेसले सधैँ नेपाल– भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए । वक्ताका रुपमा बोलाइएका बीजेपी नेता स्वास्थ्य समस्या देखाउँदै कार्यक्रममा अनुपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै राजदूत नीलाम्बर आचार्यले नेपाल भारत सम्बन्ध ऐतिहासिक र पुरानो रहेको बताए । तर, ऐतिहासिक सम्बन्धलाई मात्र फोकस गरेर नपुग्ने भन्दै राजदूत आचार्यले नेपाल भारत सम्बन्धका नयाँ विकसित सम्बन्धहरुलाई पनि सम्वोधन गरेर अघि बढ्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया