धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरी निरीक्षकसहित तीनको ज्यान गयो

समाचार

12/14/2019

जनकपुरधाम, २८ मंसिर । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ ।

राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहालसहित तीन जनाको मृत्यु भएको हो ।

मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह, उनका करिब १६ वर्षीय छोरा आनन्द साहको समेत मृत्यु भएको छ । साहका अर्का छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते छन् ।

राति करिव साढे ११ बजेतिर पिसाव फेर्न निस्किदा साहले आफ्नो घरको गेट अगाडि शंकास्पद बस्तु देखपछि प्रहरीलाई फोन गरेका थिए।

करिव २ किलोमिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अमिरकुमार दाहालको नेतृत्वमा टोली पुगेको थियो ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनास्थल सिल गर्न खोज्ने क्रममा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ