नेकपाको स्थायी समिति बैठक फेरि स्थगित, चिनियाँ सक्रियता तीव्र

समाचार

7/8/2020

काठमाडौं, २४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण स्थायी समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन ।

आज बुधबारका लागि तोकिएको बैठक पनि पुनः दुई दिनका लागि स्थगित भएको छ । प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउनुपर्ने अडान राख्दै आएका छन् भने ओलीले कुनै पनि हालतमा कुनै पदबाट नहट्ने अडानमा छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला चीनको सक्रियता पनि तीव्ररुपमा बढेको देखिएको छ । नेकपाका शीर्ष नेताहरुसँग चिनियाँ राजदूत होऊ यान्छीले भेटवार्ता गर्दै आएकी छन् ।

भारतले आफूलाई सरकारबाट हटाउन खोजेको आरोप लगाएका कारण ओलीको शासनसत्ता संकटमा परेको देखिन्छ । यता, भारतको सक्रियता बढेको भन्ने ओलीको पार्टीभित्र चिनियाँ चलखेल बढेकोप्रति कसैले पनि कुनै किसिमको आवाज उठाइरहेका छैनन् ।

कोरोनाको संक्रमणभन्दा तीव्रगतिमा नेकपाका आन्तरिक खेमाहरु धु्रवीकृत हुँदै जाँदा उत्तरी छिमेकी चीनको नेपालमा गतिविधि ह्वात्तै बढेको हो । नेकपाभित्र चीनको भूमिका एकपटक फेरि सतहमा देखिएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ माइक्रो म्यानेजमेन्टले टिक्न दिन्छ कि अर्को व्यक्ति ल्याउँछ भन्ने प्रश्न तेर्सिएको छ । एमसीसीका पक्षधर देखिएका ओलीलाई एमसीसी विरोधीहरुले ओलीलाई हटाउन चाहिरहेका छन् ।

यता, एमसीसी चीनको इन्टरेष्ट विपरीत रहेको छ । चीनको बीआरआईलाई काउन्टर दिन अर्थात् नेपालमा चिनियाँ हस्तक्षेपविरुद्ध एमसीसी रहेको कतिपयको विश्लेषण छ ।

प्रधानमन्त्रीले जसरी पनि एमसीसी पास गर्नुपर्ने बताउँदै आएका छन् भने नेकपाभित्रका अर्को खेमा झलनाथ खनाल, डा.भीम रावललगायतले एमसीसी राष्ट्रको अहितमा रहेको तर्क गर्दैछन् ।

तसर्थ, अब प्रष्टरुपमा बुझ्न सकिन्छ कि अहिले नेपालको शासनसत्तामा भारतको प्रभावभन्दा पनि चीन र अमेरिकाबीचको लडाइ रहेको छ । देखावटीरुपमा भारतलाई दोष दिए पनि चीन र अमेरिकाले खेलिरहेको स्पष्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ