काठमाडौं, १६ फागुन । कोरोना भाइरस (कोविड–१९) को प्रकोपका कारण एक महिनादेखि बन्द चीनसँगको नाका खोल्ने नेपाली अधिकारीहरुको प्रस्ताव चिनियाँ पक्षले अस्वीकार गरेको छ ।
चीनमा प्रकोप बढेपछि दुवै देशको सहमतिम माघ १४ गतेदेखि सबै नाका बन्द गरिएको थियो ।
नाका बन्द भएपछि व्यापार मात्र ठप्प भएको छैन, सीमा क्षेत्रका बासिन्दाको जीवनशैलीमै प्रभाव पर्न थालिसकेको छ । त्यसैकारण कोरोनाको राम्रो जाँच गर्ने व्यवस्था गरेर नाका खुलाउने विषयमा नेपाली अधिकारीहरु छलफलमा जुटेका छन् ।
यसबारे सम्बन्धित मन्त्रालयका सचिवहरुले छलफल गरेका थिए । छलफलमा गृह सचिव, वाणिज्य सचिव, अर्थ सचिव र स्वास्थ्य सचिव उपस्थित थिए। उनीहरुले सावधानी अपनाएर नाका खुलाउन सकिने निर्णय समेत गरे ।
सोही निर्णयअनुसार नाका खुलाउन नेपालले चिनियाँ पक्षसँग आग्रह गरेको थियो ।
तर, चिनियाँ पक्षले तत्काल नाका खोल्न नसकिने जवाफ दिएको छ । त्यस्तै, नेपाल–चीन सीमाक्षेत्रमा बसोबास गर्ने केहीलाई पनि चेकजाँच गरेर आवतजावत गर्न दिनेबारे छलफल भएको थियो ।
तर, सो विषयमा चीनले असहमति जनाएको थियो ।
तपाईको प्रतिक्रिया