काठमाडौं, २० जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आकाशमा चिनियाँ विमान उडेको छ । बी १०टिआरमा दर्ता भएको बिचक्राफ्ट बि ३०० सी कलसाइनको चिनियाँ विमान ३३,८०० फिटको उचाइमा उडेको थियो ।
एसिया न्युज नेटवर्कका अनुसार उक्त विमानले सगरमाथाको उचाई मापनका लागि आएको क्यालिब्रेसन उडान गरेको हो । कुनै पनि विदेशी विमान अर्को मुलुकको अनुमतिबिना सो मुलुकको हवाई क्षेत्रमा प्रवेश गर्न पाउँदैन ।
यस विमानको उडानका लागि नेपालको अनुमति थियो भन्ने विषयमा बुझ्दा आधिकारिक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले पनि यस विषयमा जानकारी नरहेको बताए ।
यसअघि सगरमाथाको उचाई मापनका लागि २७ मार्च, २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको शिखरमा पुगेका थिए । त्यसैगरी सगरमाथको उचाई मापनकै लागि २२ मार्च, २०१९ मा नेपाली सर्भेयर टोली शिखरमा पुगेको थियो ।
तपाईको प्रतिक्रिया