नेपालको विरोध उही परम्परागत रूपमा र स्वभावतः भारतपट्टी लक्षित : जेपी गुप्ता

समाचार

5/10/2020

काठमाडौं, २८ बैशाख । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले भारतले बनाएको बाटोको विषयमा नेपालको विरोध उही परम्परागत रुपमा र स्वभावतः भारतपट्टी लक्षित रहेको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका गुप्ताले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विचार जस्ताको तस्तै :

सन् १५ मा भारत र चीनका बीच कालापानी(लिपुलेक क्षेत्रमा भौतिक संरचनाहरू निर्माण गर्ने द्विपक्षीय सहमति भयो। यो अनपेक्षित भएकोले नेपालले बिरोध गर्यो। नेपालको भू(भागमा निर्माण हुने यस्ता संरचनाका बारेमा भारत र चीनले कसरी सहमति गर्न सक्छ भने नेपालको धारणा थियो।परम्परागत रूपमा र स्वभावतस् नेपालको बिरोध भारत तिर मात्र लक्षित रह्यो। चीनले केही बोलेन, बोल्नु पर्ने माँग उठेन ।

सन् १९ मा भारतले जम्मू–कश्मिर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी गरेको नक्सामा पनि नेपालले बिरोध जनायो। चीनले यस सवालमा पाकिस्तानको दृष्टिकोणलाई समर्थन गर्यो र लद्दाखको बारेमा बोल्यो। नेपालको माँगका बारेमा केही भनेन। भारतले नेपालको माँगलाई तथ्यहीन बतायो, अस्वीकार गर्यो। अहिलेको चर्चित प्रसंगमा तत्क्षण नेपालले बिरोध जनायो ।

भारतले बनाएको बाटोको गन्तव्य चीनको तिब्बत नै हो। एक अर्थमा, यो बाटोको निर्माण सन् १५ मा भारत(चीनका बीच भएको भौतिक संरचना बनाउने सहमतिकै अगाडी बढेको रूप हो। तर, मननीय कुरो के छ भने चीनले अहिले पनि केही बोलेको छैन ।

नेपालको बिरोध उही परम्परागत रूपमा र स्वभावतः भारत पट्टी लक्षित छ। यो ठिक त हो। तर, आधी ठिक मात्र हो। बुझ्न सकिन्छ कि, यदि यस प्रसंगमा चीनको सरोकार भारतसंग आवद्ध रह्यो भने लिपुलेक क्षेत्रको वर्तमान अवस्था कायमनै रहनेछ। चीनको भारतको भन्दा पृथक सोच बन्दछ भने नेपालले बल पाउनेछ ।

यो तथ्य हो। यसलाई बुझेर नेपालको कुटनीतिक प्रयासमा विविधता ल्याउनु पर्ने हुन्छ। शायद, एकातिर शान्तकुटनीति र अर्को तिर अन्तर्राष्ट्रियकरण को सोचले हाम्रो राष्ट्रिय हीतलाई बल नपुग्न सक्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ