नेपालगन्ज, २३ बैशाख । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बाँकेमा हालसम्म ५ सय ९३ जनाको आरडीटी परीक्षण गरिएको छ । बाँकेमा पीसीआर विधिबाट तीन सय ५८ को जाँचका लागि स्वाब संकलन गरिएकोमा छ । नेपालगन्जका कोरोना संक्रमित अनपेक्षित देखिएपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली पुगेको छ ।
तपाईको प्रतिक्रिया