काठमाडौं, २० बैशाख । नेपाल–भारत बीचको पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने सम्बन्धमा पर्यटन टास्क फोर्स बनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित व्यवसायीहरूको छाता संगठनबीच भएको अनलाइन छलफलका क्रममा टास्कफोर्स बनाउने सहमति भएको हो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुखसँग नेपाल–भारत पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिनेबारे छलफल गरेका हुन् ।
उक्त अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराएका थिए । कोरोनाले नेपाली पर्यटन उद्योगको क्षतिका सम्बन्धमा बोर्डले गरिरहेको सर्भेक्षणबारे समेत उनले जानकारी दिए ।
नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हाइजिन स्यानिटेसनको व्यवस्थाका सम्बन्धमा समेत उनले जानकारी दिए । उनले नेपालमा बनिरहेका हिलस्टेसनको सम्बन्धमा समेत जानकारी दिए ।
यस्ता हिलस्टेसन भारतीय बजार लक्षित गरी बनाउन लागिएको उनको भनाइ छ । मझौला पहाडी भागमा नयाँ पर्यटकीय गन्तव्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले पहल गरिरहेको समेत उनले जानकारी दिए ।
कोरोनाको संकट सकिएपछि भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वास बढाउन नेपालले गर्नुपर्ने सबै तयारीमा बोर्ड जुटेको उनको भनाइ थियो ।
भारतीय पर्यटनका व्यक्तिले संकटपश्चात भारतीय पर्यटक भ्रमणमा सामाजिक दुरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यहरूमा यसको प्रवन्ध गरिराख्न आग्रह गरेका छन् । नेपालको यो संकटमा हालसम्म शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरूमा राम्रो प्रभाव पर्ने भन्दै सुरक्षामा सचेत हुन आग्रह गरेका थिए ।
छलफलमा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकताका विषयमा सहमति भएको छ । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिनपनि सहभागीले अनुरोध गरेका थिए ।
तपाईको प्रतिक्रिया