नेपाल–भारत प्रवेश गर्न स्वास्थ्य जाँच अनिवार्य

समाचार

3/18/2020

बाँके, ५ चैत । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् ।

सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार एक्कासी नेपालगञ्ज आइपुगेका थिए ।

उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो ।

नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको संक्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ ।

यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ ।

स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ ।

दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ ।

बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ ।

योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ