नेपाल–भारत बससेवा १ महिनालाई स्थगित

समाचार

3/19/2020

काठमाडौं, ६ चैत । सरकारले नेपाल–भारतबीच हुँदै आएको लामो दूरीका यात्रुबाहक सार्वजनिक सवारीसाधन सञ्चालनलाई स्थगित गरेको छ । सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमण देखिएकाले सतर्कता अपनाउन १ महिनाका लागि सेवा स्थगित गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेपाल र भारतबीच भइरहेको यात्रुबाहक सार्वजनिक सवारीसाधनहरूको सञ्चालन स्थगित गर्ने निर्णय गरेको हो ।


नेपाल–भारतबीच विभिन्न सहरबीच दर्जनभन्दा बढी रुटमा यात्रुबाहक बस सेवा सञ्चालन हुँदै आएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक हमालका अनुसार काठमाडौं–पटना–बोधगया, सिलिगुडी–काँकडभिट्टा–काठमाडौं, महेन्द्रनगर–दिल्ली, जनकपुर–पटना, महेन्द्रनगर–देहरादुन, नेपालगन्ज–हरिद्वार, जनकपुर–अयोध्या, नेपालगन्ज–लखनउ, नेपालगन्ज–दिल्ली, काठमाडौं–गोरखपुर, काठमाडौं–दिल्ली, काठमाडौं–बनारस, पोखरा–दिल्लीलगायतका रुटमा यात्रु बस सञ्चालन भइरहेका थिए ।

नेपाल–भारतबीच नागरिकस्तरमा सम्बन्ध विस्तार गर्ने लक्ष्यअनुसार सन् २०१४ मा दुई देशका विभिन्न सहरहरू जोड्ने गरी मैत्री बस सेवा सञ्चाल गर्ने सहमति भएको थियो । त्यसै योजनाअनुसार नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल भ्रमणताका दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा काठमाडौं–दिल्ली, दिल्ली–पोखरा र काठमाडौं–बनारस बस सञ्चालनको उद्घाटन गरेका थिए । तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइराला थिए । त्यसपछि क्रमशः अन्य सहरहरूमा पनि बस सेवा सञ्चालन हुँदै आएको छ ।

नेपालबाट जाने सवारीसाधन भारतमा धेरै भिड हुने र कोरोना संक्रमण भएको क्षेत्रमा जाने भएकाले प्रदेश सरकारहरूले सार्वजनिक यातायात सेवा रोक्न संघीय सरकारलाई आग्रह गरेका थिए । त्यस्तै, संघीय सरकारले पनि भारतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी सार्वजनिक सडक यातायातलाई रोक्ने निर्णय गरेको हो । अहिले भारतबाट आउने सवारीसाधनलाई भने कडा जाँचपछि नेपाल प्रवेश दिने गरिएको छ । यसमा पनि अवस्थाअनुसार नयाँ निर्णय गरिने विभागको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ