काठमाडौँ, ३० साउन । नेपाल–भारत सीमा भएर आवतजावत गर्ने व्यक्तिहरूको अभिलेख राख्ने कामको सुरुवात भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई देशबीच भएको आवतजावतको विवरण लिइरहेको र आगामी दिनमा त्यसलाई स्थायी रूपमा विकास गर्ने तयारी भएको उनले संसदीय समितिलाई जानकारी दिएका छन् ।
दुई देशबीच हुने आवतजावतको विवरण कोरोना संक्रमण फैलिनु अघिसम्म नेपालले राख्ने गरेको थिएन । तर, सरकारले आगामी दिनमा सीमामा हुने आवतजावतको विवरण राखिने र परिचयपत्रका आरधामा मात्रै सीमा आरपार गर्न दिनेतर्फ सरकार अगाडि बढ्ने सरकारले जानकारी दिएको हो ।
संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले सीमामा आवतजावत गर्नेको अभिलेख संकलन भइरहेको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइनेबारे सरकारले तयारी गरिराखेको बताए । ’सीमामा दर्ता प्रणाली, सकेसम्म परिचयपत्र प्रणाली लागु गर्ने । त्यो सकिएन भने सीमामा आवतजावत गर्ने व्यक्तिहरूको विवरण दर्ता गर्ने भन्ने कुरा आए । त्यसले सीमा विवाद र सीमा अतिक्रमणका समस्या हल गर्नमा मद्दत गर्छ ।
यो प्रणाली लागु गर्ने भन्ने सुझाव आएका छन् । सीमालाई सुदृढ र सुरक्षा गर्ने यो अवसर पनि हो । कोभिडले हामीलाई अवसर दिएको छ भन्ने कुराहरू आएका छन्,’ सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भने, ’त्यो दिशातिर हामी गइरहेका छौं । अहिले अभिलेखिकरण गर्ने काम भइरहेको छ । त्यसलाई स्थायी रुप दिने प्रणालीमा नै विकास गर्ने विषयमा सरकारले ध्यान दिनेछ ।’
तपाईको प्रतिक्रिया