नेपालमा औषधि निर्यात नरोक्न भारत सहमत

समाचार

3/7/2020

काठमाडौं, २४ फागुन । भारतले औषधि उत्पादनमा कमी आएको तथा भारतमै अभाव हुन थालेको भन्दै विदेश निर्यातमा रोक लगाएको २६ प्रकारको औषधि नेपालमा भने निर्यात नरोक्न सहमत भएको छ ।

केही दिनअघि सूचना जारी गर्दै पारासिटामोललगायतका औषधि विदेश निर्यात नगर्ने बताएपछि नेपालले भारतसँग छलफल गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय पक्षसँग गरेको छलफलपछि नेपालमा औषधि निर्यात खुलाउन भारत सहमत भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार दुई देशका सचिवबीच टेलिफोन वार्ता भएको थियो । सोही वार्तापछि भारतले नेपालको प्रस्ताव मानेको मन्त्री भट्टले जानकारी दिए ।

उनका अनुसार नेपाललाई चाहिने कुनै पनि अत्यावश्यक वस्तु भारतले निर्यातमा रोक नलगाउने जनाएको छ । कोरोना भाइरसको कारण कच्चा पदार्थ आयातनिर्यातमा समस्या हुँदा आफ्नो उद्योग क्षेत्र प्रभावित हुनथालेको भन्दै उसले औषधि निर्यात नगर्ने निर्णय गरेको थियो।

विशेषगरी चीनबाट भारत, बंगलादेश र नेपालले औषधिको कच्चा पदार्थ आयात गर्दै आएका छन् । तर कच्चा पदार्थ अभावमा केही औषधिको उत्पादनमा कमी आएको भन्दै भारतले निर्यात नगर्ने बताएपछि नेपालमा समेत त्यसको असर देखिने भन्दै भारतलाई निर्यात नरोक्न पहल गरिएको हो ।

उनले कुनै पनि वस्तु अभाव नहुने गरी नेपालमा मौज्दात रहेको समेत स्पष्ट पारे । अभाव सिर्जना हुने गरी बिक्रीवितरणमा असहजता पैदा गराउनेलाई कारबाहीको दायरमा ल्याउने समेत उनले उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ