काठमाडौं, २० चैत । लकडाउनका कारण नेपालमा रोकिएका ६ सय जना भारतीय नागरिकको खाना, बास र स्वास्थ्योपचारको व्यवस्थापन स्थानीय सरकारले गरिरहेका छन् ।
ती भारतीय नागरिकलाई झापा, मोरङ, पर्सा र रुपन्देहीमा क्वारन्टिनमा राखिएको छ । जो जहाँ छ, त्यही देशले व्यवस्थापन गर्ने भारतसँगको सहमति अनुसार लकडाउनका कारण देश फर्किन नपाएका भारतीयलाई नेपालले नै स्याहार गरिरहेको हो ।
भारतले पनि नेपाली सीमामा आइपुगेका तर सरकारले प्रवेश अनुमति नदिएका २ हजार नेपाली नागरिकको खानेबस्ने व्यवस्था गरिरहेको छ ।
भारतीय नागरिकहरुलाई दैनिक चार पटक खाना, दुई पटक स्वास्थ्य जाँच र सुरक्षाको व्यवस्था गरिएको छ ।
झापामा ७२ जना भारतीय नागरिक क्वारन्टिनमा छन्। बाहुनडाँगीमा ३९ जना, पृथ्वीनगरमा १८ जना र सुरुङ्गामा १५ जनालाई राखिएको प्रदेश नम्बर १ को प्रहरी कार्यालयले जनाएको छ । मोरङको टाँडीमा पनि ४ जना भारतीय नागरिक सरकारी क्वारन्टिनमा छन् ।
पर्साको वीरगन्ज नाकामा रोकिएका ३ सय ६९ जना भारतीय नागरिकलाई ठाकुरराम कलेजमा राखिएको छ । त्यस्तै, रुपन्देहीको निमा प्रतिमा प्रतिष्ठान कलेजमा पनि १ सय ५५ जना भारतीय नागरिक छन् ।
रुपन्देहीका सीमानामा रोकिएका भारतीयलाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरिरहेको छ ।
भारतीयको निगरानीमा नेपाली सेना खटिएको छ । दैनिक दुई पटक स्वास्थ्य जाँचका व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै उनीहरुलाई खाना खुवाउनका लागि समयतालिका नै तयार गरिएको अधिकृत मरासिनीले बताए ।
तपाईको प्रतिक्रिया