नेपालले भारतसँग द्वन्द्व सिर्जना गर्‍यो : पूर्व राजदूत पुरी

समाचार

6/18/2020

काठमाडौं, ४ असार । नेपालका लागि भारतका निवर्तमान राजदूत मञ्जीव सिंह पुरीले नेपालले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतसँग द्वन्द्व सिर्जना गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी विरासतलाई बलियो बनाउन नयाँ नक्सा जारी गरेको उनको दाबी छ । ‘नेपालमा राष्ट्रवाद वास्तवमा भारतविरोधी भावनाको मखुण्डो हो । नेताहरुले आफ्नो व्यक्तिगत लाभका लागि यसको प्रयोग गर्छन्, र यो प्रशासन, बौद्धिक र मिडियामा समेत गडेर बसेको छ,’ भारतीय पत्रिका द हिन्दूमा प्रकाशित पुरीद्वारा लिखित लेखमा भनिएको छ ।

उनले नेपालको नयाँ नक्सा भारतको भूमि मिचेर बनाइएको दाबी गरेका छन् । सो नक्सा प्रकाशन र त्यसलाई संविधानमा रहेको निशान छापमा राख्ने काम कुनै पनि हालतमा रोक्नुपर्नेमा त्यसो गरिएको उनको दाबी छ ।

‘त्यसो त, आफ्ना जनताको हितविपरित मूल्य चुकाएर पनि नेपालले भारतसँग आफ्नो नाक ठोक्काएको यो पहिलो पटक भने होइन,’ उनको दाबी छ, ‘सन् २०१५ मा पनि नेपाली कांग्रेसले भारतका चासोलाई वेवास्ता गर्दै नयाँ संविधान जारी गरेरै छाडेको थियो ।’ उनले ५ हजार मेगावाटको गेम–चेन्जिङ जलविद्युत पञ्चेश्वर परियोजनामा प्रगति हुन नसकिरहेका बेला यो घट्नाक्रम भएको बताएका छन् ।

लेखमा उनले नेपालमा तीब्ररुपमा परिवर्तन भइरहेको राजनीतिक, आर्थिक र सामाजिक परिदृष्यलाई भारतीय पक्षले बुझ्न र मनन गर्नुपर्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ