नेपालसँगको सीमा विवादमा गम्भीर छौं : भारत

समाचार

5/29/2020

काठमाडौं, १६ जेठ । भारतले नेपालसँग देखिएको सीमा विवादबारे गम्भीर रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको तर्फबाट बिहीबार जारी गरिएको एक वक्तव्यमा नेपालसँग पछिल्लो समय देखिएको सीमा समस्याबारे भारतले गम्भीरतापूर्वक अनुगमन गरिरहेको उल्लेख गरेका छन् ।

‘नेपालसँग पछिल्लो समय देखिएको सीमा समस्या र विवादबारे भारत गम्भीर छ । सीमा मुद्दामा हालैका घटनाक्रमलाई लिएर हामी नेपालमा स्थितिको निगरानी गरिरहेका छौं’, उनले वक्तव्यमा भनेका छन् ।

भारतीय विदेश मन्त्रालयले नेपालले पनि यस विषयलाई गम्भीरताको साथ लिइरहेको छ भन्ने विश्वास व्यक्त गरेको छ । ‘हामीले पनि यस मामिलामा नेपालमा गम्भीरतापूर्वक विचार विमर्श भइरहेको कुरामा ध्यान दिइरहेका छौं’, उनले भनेका छन् ।

भारतसँग नेपालको मित्रताको गहिरो सम्बन्ध रहेको जनाउँदै विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालसँगको सम्बन्ध सदियौँदेखिको रहेको उल्लेख गरेका छन् ।

नेपालसँगको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई भारतले ठूलो महत्त्व दिएको चर्चा पनि उनले गरेका छन् ।

‘केही वर्षयता हाम्रा सम्बन्धहरुमा विविधिता आएको छ। दुई देशबीचको सम्बन्धमा नयाँ आयामहरु थपिएका छन्’, विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीबीचका विविधतायुक्त सम्बन्धले हाम्रो मित्रता झन् प्रगाढ भएको छ । द्विपक्षीय सहयोगका क्रममा कयौँ संख्यामा ठूला परियोजनाहरु भारतको सहयोगमा अहिले कार्यान्वयन भइरहेका छन् ।’

भारतले नेपालसँग सधैं विश्वासको वातावरण बनाउन चाहेको पनि उल्लेख गरेको छ । ‘भारत आफ्ना छिमेकीसँग आपसी सहमतिका साथ विश्वासको वातावरण बनाएर अघि बढ्न चहान्छ, यसका लागि हामी सदैव खुला छौं’, वक्तव्यमा भनिएको छ, ‘यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसका लागि रचनात्मक र सकारात्मक प्रयासको आवश्यकता छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ