काठमाडौं, २८ जेठ । भारतका पूर्व विदेशमन्त्री यशवन्त सिन्हाले केही समययता नेपाल र भारतबीच बिग्रँदो सम्बन्ध सुधारका लागि भारतले अग्रसरता लिनुपर्ने बताएका छन् ।
भारतीय जनता पार्टीका नेता सिन्हाले दुवै देश कोरोना महामारी सामना गरिरहेका बेला द्विपक्षीय सम्बन्धमा दुश्मनी सिर्जना गर्नेगरी गतिबिधि गर्नु अनुचित हुने बताएका छन् । उनले दक्षिण एसियाका मुलुकहरुबीच सम्बन्ध प्रगाढ बनाउने पहलकदमीको नेतृत्व भारतले नै लिनुपर्नेमा जोड दिए ।
‘तर दुर्भाग्य, नेपालसँगका पछिल्ला गतिबिधि त्यसको विपरित छन् । त्यसकारण भारत र नेपालबीचको द्विपक्षीय सम्बन्ध निकै संकटपूर्ण बिन्दूमा पुगेको छ र दुवै मुलुकले एउटा मानवीय संकट बेहोरिरहेका बेला यस्तो भएको छ,’ उनले भारतीय सञ्चारमाध्यम द हिन्दूमा लेखेका छन् ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक सञ्चालनमा ल्याएको सन्दर्भमा उनले सो उद्घाटनका क्रममा गरेको घोषणा र त्यसका लागि रोजिएको समयले धेरैलाई अचम्ममा पारेको टिप्पणी गरेका छन् ।
‘त्यहि भूमि भएर यो समयमा भिडियो कन्फ्रेन्समार्फत् यति अर्जेन्टका साथ सो सडक परियोजना उद्घाटन गरिन्छ भनेर कसैले सोँचेको पनि थिएन,’ अर्का लेखक अतुल के. ठाकुरसँग संयुक्त लेख प्रकाशित गर्दै उनले भनेका छन, ‘सो घोषणा गरेलगत्तै नेपाल सरकार, त्यहाँका जनता र राजनीतिक खेलाडीहरु सबैलाई उच्च सतर्कताको अवस्थामा पु¥यायो ।’
नेपालले पटकपटक वार्ता गर्न प्रस्ताव गर्दा पनि भारतको विदेश मन्त्रालयले मिति नतोकी लकडाउनपछि बस्ने बताएको उल्लेख गर्दै उनले ‘भिडियो कन्फ्रेन्समार्फत् वार्ता किन गर्न सकिदैन?’ भनी प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्री ओलीका भनाईहरुलाई भने गैरगुटनीतिक टिप्पणीको संज्ञा पनि दिएका छन् ।
उनले नेपाल र भारतबीचको बिग्रदो सम्बन्धलाई तुरन्त सम्बोधन गर्नुपर्ने र त्यसका लागि कुटनीतिक संवाद नै जतिसक्दो छिटो सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।
तपाईको प्रतिक्रिया