काठमाडौं, ३१ जेठ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसहमतिले पारित भएको छ । योसँगै नेपालको नक्साले पूर्णता पाएको हो ।
लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।
संविधानको अनुसूचि ३ मा रहेको निशान छाप परिवर्तन भएको छ । संविधान संशोधनको पक्षमा उपस्थिति २५८ जना सांसदले मतदान गरेका छन् । विधेयकको विपक्षमा कसैले पनि मतदान गरेनन् ।
संशोधनमाथि संशोधन हालेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले मतदान प्रक्रियामा सहभागी भइनन् । उनको विधेयक सभामुखले अस्वीकृत गरेपछि संसदबाट उनी बाहिरिएकी थिइन् । सांसद गिरीलाई आफ्नो विचार राख्ने मौकासमेत नदिएपछि उनी बाहिरिएको प्रतिक्रिया दिएकी छन् ।
यता, जसपाका नेताहरुले आफूहरु राष्ट्रियताको सवालमा जहिले पनि एकताबद्ध रहेको बताउँदै निशान छापमा मतदान गरेको बताएका छन् ।
जसपाका नेता मो. इस्तियाक राईले भने, ‘संविधान संशोधनको पक्षमा मतदान गर्यौ । अब भूमि फिर्ता ल्याउने जिम्मा सरकारको हो ।
तपाईको प्रतिक्रिया