काठमाडौं, ३ चैत । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ) ले कोरोनाभाइरसको प्रकोपमा पनि ‘पाकिस्तानमा अल्पसंख्यक हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहायता नदिएको’ खबरले आफू चिन्तित भएको जनाएको छ।
यूएससीआईआरएफका आयुक्त अनुरीमा भार्गवले यी कार्यहरु निन्दनीय भएको जनाएका छन् । ‘कोभिड–१९ महामारी चलिरहेको छ, पाकिस्तानभित्र कमजोर समुदायहरू भोकमरीकाविरूद्ध लडेर उनीहरूका परिवारलाई स्वस्थ राख्न कोशिस गरिरहेका छन । खाद्यान्न सहायता दिनुपर्छ त्यसबाट हट्नु हुँदैन,’उनले भने ।
भार्गवले पाकिस्तान सरकार मार्फत सहायत दिने संगठनहरूलाई खाद्यान्न वितरणमा भेदभाव नगर्न आग्रह पनि गरेका छन् । हिन्दू, ईसाइ र अन्य धर्मका अल्पसंख्यका समुदायलाई पनि एक नजरले हेर्नुपर्ने उनले बताए ।
हिन्दू समुदाय पाकिस्तानको जनसंख्याको सानो अंश रहेको छ र उनीहरू व्यापक भेदभावको शिकार हुन्छन् र प्रायः आधारभूत मानव अधिकारबाट पनि उनीहरू वञ्चित हुने गरेका विभिन्न अध्ययन रिपोर्टहरुले देखाउँदै आएका छन् ।
यूएससीआईआरएफका अनुसार कराचीमा घरबारविहीन र मौसमी कामदारहरूलाई सहयोग र्पुयाउने गैरसरकारी संस्था सालानी वेलफेयर इन्टरनेसनल ट्रस्टले हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहयोग गर्न अस्वीकार गरिरहेको छ ।
यूएससीआईआरएफका कमिश्नर जोनी मूरले भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई अप्ठ्यारो परेका बेला मुलुकको नेतृत्व प्रदान गर्दै गर्दा धार्मिक अल्पसंख्यक र गरिव नागरिकलाई भोकमरीबाट जोगाउन सुझाव दिएका छन् ।
यूएससीआईआरएफको सन् २०१९ को वार्षिक प्रतिवेदनमा पाकिस्तानमा हिन्दू र इसाईहरू असुरक्षित रहेको ठहर गरिएको छ ।
उक्त प्रतिवेदनमा सुरक्षाका लागि निरन्तर खतराको सामना गर्नु परिरहेको छ । उनीहरू विभिन्न प्रकारका उत्पीडन र सामाजिक बहिष्कारको शिकार भएको प्रतिवेदनमा दावी गरिएको छ ।
तपाईको प्रतिक्रिया