पाम तेल निर्यात चाँडै खुल्छ : राज्यमन्त्री दुगड

समाचार

3/13/2020

काठमाडौं, ३० फागुन । भारतले नेपालबाट हुने पाम तेलको आयातमाथि लगाएको बन्देज चाँडै हटाउने जनाएको छ । नयाँदिल्लीमा रहेका उद्योग राज्यमन्त्री मोतीलाल दुगडसँगको छलफलमा भारतीय उच्च अधिकारीहरूले नेपालबाट हुँदै आएको पाम तेलको निर्यातमा लगाइएको बन्देज हटाउने सम्बन्धमा त्यस्तो धारणा राखेका हुन् । मन्त्री दुगडसँगको भेटमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री हरदीपसिंह पुरीले यस्तो प्रतिबद्धता जनाएका हुन ।

भारतीय पक्षसँगको कुराकानीपछि आफू पाम आयलको निर्यात चाँडै खुल्नेमा विश्वस्त रहेको राज्यमन्त्री दुगडको भनाइ छ । ग्लोबल बिजनेस समिटमा सहभागी हुन दिल्ली गएका मन्त्री दुगडले राज्यमन्त्री पुरीसँग भेट गरेका थिए । भारतले दुई महिनाअघि प्रशोधित पाम आयलको आयातमा बन्देज लगाएको थियो । भारतको उक्त निर्णयपछि नेपालबाट हुने निर्यात रोकिएको थियो ।

नेपालको भन्सार विभागले पनि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पाम तेलको भारतर्फको निर्यात ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको थियो । यो मुलुकको कुल निर्यातको एक चौथाइभन्दा बढी हो । भारतले उक्त निर्णय गरेदेखि नै नेपाली पक्षले त्यसलाई खुलाउन ताकेता गर्दै आएको थियो । नेपालको अनुरोधपछि भारतले केही व्यवसायीलाई आयातको लाइसेन्स पनि दियो । तर एक लट लाइसेन्स दिएपछि पुनः बन्देज लगाउने निर्णय गरेको थियो । त्यसपछि पुनः नेपालले लाइसेन्स खुला गराउन आग्रह गर्दै आएको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ