काठमाडौं, ९ साउन । केही दिन देखिको अविरल वर्षाले उपयुक्त निकास र नदी–खोलामा तटबन्ध व्यवस्थित नहुँदा प्रदेश २ का आठवटै जिल्ला बाढीको पानीले जलाम्य भएका छन् । गत हप्तादेखि प्रदेश २ मा आएको बाढीले बगाउँदा अहिलेसम्म सर्लाही र महोत्तरीमा दुई जना बेपत्ता छन् । त्यस्तै बाढीले सय १९ घर र ८ सय ४५ जना विस्थापित भएका छन् ।
प्रदेश २ प्रहरी कार्यालयका अनुसार महोत्तरीको रातु खोलाले बगाउँदा ४० वर्षीय वीरेन्द्र कापर र रौतहटको चाँदी खोलामा बगेर ५० वर्षीय सुकमानी थिङ छन् । विभिन्न जिल्लामा ३८ वटा घरमा बाढीले क्षति पु¥याएको छ ।
सिरहामा बलान नदीले सखुवा–४ र लहान–२३ का बस्ती र खेतीयोग्य जग्गा कटान गरेको छ । कटान क्षेत्रमा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले निरीक्षण गरेका छन् । कटान रोक्न तारजालीको तत्काल बन्दोबस्त मिलाउन मन्त्रीहरूको निर्देशन छ ।
यस्तै, वीरगन्जका अधिकांश भूभाग पनि जलमग्न बनेको छ । अविरल वर्षाले महानगरको मुख्य व्यापारिक क्षेत्र आदर्शनगरसहित रानीघाट, श्रीपुर, रामगढवा, लक्ष्मनवा, छपकैया, मुर्ली, जेलरोड, गोश्वारा रोडलगायतका क्षेत्र डुबानमा परेकका छन् । नगर क्षेत्रमा ३ देखि ५ फिटसम्म पानी जमेको छ ।
बिनायोजना बढ्दो आवास निर्माणले महानगरपालिका वर्षात्मा डुबानमा पर्ने गरेको छ । पर्साको सिंघाई, ओरिया, भोडाहा, तिलावे खोलामा आएको बाढीले अधिकांश क्षेत्र डुबानमा छन् । भोडाहा खोलामा आएको बाढीले लालपर्सा, चोर्नीलगायतका क्षेत्र डुबानमा परेका छन् ।
सर्लाही सदरमुकाम मलंगवासहित आधा दर्जन बस्ती प्रभावित छन् । कतिपय स्थानीय तहले सडक बनाए पनि पानी निकासको व्यवस्थापनमा चुक्दा पूर्वपश्चिम राजमार्गका केही बस्ती पनि डुबानमा परेका छन् ।
पानीको निकास नहुँदा सदरमुकाम मलंगवा, गोडैता, हरिवन, लालबन्दी, कविलासी नगरपालिकाको बस्ती डुबेका हुन । विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जनधनको क्षति भने नभएको बताए । धनकौल गाउँपालिका–३, ढापटोलका स्थानीय भने त्रासमा छन् । वाग्मती किनारको यो बस्तीछेउमै एकादशी खोला र मनुष्मारा खोला छन् ।
दुवै खोला सतहभन्दा निकै माथि आएका छन् । बाढीको पानी गाउँ पस्न थालेपछि स्थानीय बासिन्दा वाग्मतीको तटबन्धमा टहरा निर्माणमा जुटेका छन् । बाढीका बेला तटबन्ध नै उनीहरूका लागि सहारा बन्ने गरेको छ ।
बाराको जनजीवन अस्तव्यस्त
अविरल वर्षा र डुबानले बारा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कतिपय विपन्न परिवारको घर भत्केको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अमलेखगन्जको १ र २ नम्बर पुलको बीचमा २५ मिटर राजमार्ग भत्केपछि आवतजावतमा कठिनाई भएको छ ।
सदरमुकाम कलैयासहित जिल्लाका आधा दर्जन गाउँपालिकामा खोलाको पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–५ गोईंठही टोलको जादोलाल कुसवाहाको घर भत्केको छ । यसैगरी महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर र वडा ४ को दहियारमा दुई घर भत्किएको छ । उता देवताल गाउँपालिका–६ रामपुर्वा र फेटा गाउँपालिका–१ त्रिवेणी गाउँमा डुबानमा परेकालाई सशस्त्र र नेपाल प्रहरीले उद्धार गरेको छ ।
बालगंगा खोलाको धार परिवर्तन भएर किसानको सयौं बिघा धानबाली कटानमा परेको छ । अनावृष्टिले कतिपय खेत रोपाइँसमेत हुन सकेको छैन् ।
सप्तरीमा डुबान
बाढीले सप्तरीको हनुमाननगर नगरपालिका, छिन्नमस्ता, बलानविहुल र तिलाठीकोइलाडी गाउँपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका, ईश्वरपुर नगरपालिका र चक्रघट्टा गाउँपालिका, रौतहटको चन्द्रपुर गरुडा नगरपालिका एवं बाराको पचरौता र सुवर्ण गाउँपालिका प्रभावित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरीका विभिन्न पालिकाको एक सय ५० घर क्षतिग्रस्त भएको र चार सय ५० व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, सर्लाहीको ४६ घर भत्केर दुई सय ५५ जना विस्थापित भएका छन् र रौतहटको २३ घर भत्केर एक सय ४० जना विस्थापित भएका छन् ।
बाढीबाट जनधनको सुरक्षा गर्न सप्तरीमा तीन सय ७०, सिरहामा तीन सय ४०, धनुषामा तीन सय ६०, महोत्तरीमा दुई सय ९५, सर्लाहीमा तीन सय ८०, रौतहटमा तीन सय ९०, बारामा तीन सय ३० र पर्सामा तीन सय ४५ गरी दुई हजार ८ सय १० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
यता प्रदेशमा बाढीको प्रकोप बढेपनि प्रदेश सरकारको तयारी शुन्य देखिएको छ । बाढी आउनु पूर्व नै उद्धार र राहतका लागि आवश्यक गर्नु पर्नेमा प्रदेश सरकारले बाढी आउँदा पनि तदारुकताका साथ उद्धार र राहतको व्यवस्था गर्न नसकेको हो ।
यद्यपी प्रदेश २ सरकारले बाढी प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ । अविरल वर्षापछि आएको बाढीका कारण भएको क्षति तथा वस्तुगत अवस्थाबारे बुझ्नका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा अनुगमन सुरु भएको हो ।
प्रदेश सरकारद्वारा गठन गरिएको मन्त्री सोनलको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायतका नदीमा आएको बाढी र सोबाट भएको कटान तथा डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन थालेको छ ।
अनुगमन सुरु गर्दै मन्त्री सोनलले बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले अनुगमन पश्चात उद्धार तथा राहतको कार्य सुरु गरिने बताए । उनले बाढीको प्रभावलाई न्यूनीकरण गर्न सरकारले आगामी दिनहरुमा विज्ञमार्फत दिर्घकालिन योजना ल्याउन गइरहेको समेत जानकारी दिए ।
मन्त्री सोनलले राहतका लागि प्रदेश सरकार पूर्ण रुपले तम्तयार रहेकाले छिट्टै प्रभावित क्षेत्रमा राहत टोली समेत पुग्ने स्पष्ट पारे ।
उनले प्रदेशका ८ वटै जिल्लामा आएको बाढीले पु¥याएको क्षतिको स्थलगत अनुगमन गरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउने र अन्य मर्मतसम्भार जस्ता कामको लागि समितिले सरकारलाई सिफारिस गर्ने जानकारी दिए ।
अनुगमनमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल लगायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया