प्रदेश २ का मन्त्रीहरु लोभलालच बाँड्दै काठमाडौंमा

मन्त्रीहरुले पार्टीलाई बदनाम गरे : सांसद यादव

समाचार

8/10/2020

काठमाडौं, २६ साउन । वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको प्रदेश २ का मन्त्रीहरु यतिबेला आफ्नो मन्त्री पद निरन्तरताका लागि अध्यक्षहरुबीच लोभलालच बाँड्दै काठमाडौंमा व्यस्त देखिएको चर्चा छ ।

प्रदेश २ मा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको छ । मुख्य शहरहरु कोरोनाका केन्द्रको रुपमा परिणत भइरहेका छन् । दिनहुँ संक्रमितहरुको मृत्यु भइरहेको छ । तर यस्ता जनजीविकासँग जोडिएका विषयहरु प्रदेश २ सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।

विगतदेखि प्रदेश २ का मन्त्रीहरुमाथि व्यापक भ्रष्टाचार, अनियमितता र कमिशन खाने लगायतका आरोपहरु लाग्दै आएका थिए ।

महामारी फैलिएको बेलामा पनि मन्त्रीहरुको कार्य र व्यवहारमा कुनै परिवर्तन नआएपछि सत्तारुढ दलकै सांसदहरुले प्रदेश २ का मन्त्रिमण्डल परिवर्तन गरी काम गर्ने क्षमतावान र स्वच्छ छविका अनुहारहरु पठाउन पार्टी नेतृत्वलाई सामूहिकरुपमा दबाब दिन केन्द्रीय कार्यालय पुगेका छन् ।

प्रदेशका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबे, व्यापक अनियमितता गरे, कमिशनमा लागे, जातिवादलाई बढावा दिए, संघीयता विरुद्ध जनमत तयार गरे, आगामी चुनावमा क्षतिको सम्भावना रहेको भन्दै सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालकै १५ जना सांसदले अध्यक्ष तथा शीर्ष नेताहरुलाई डेलिगेशन दिएका छन् भने कतिपय सांसदहरु प्रदेशबाटै दबाब निर्माण गरिरहेका छन् । अधिकांश सांसदहरु मन्त्रीहरुको कार्यशैलीबाट रुष्ट छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणभन्दा पनि मन्त्रीहरु भ्रष्टाचार र व्यापक अनियमिततामा लागेको भन्दै सत्तारुढ दलकै १५ जना सांसदले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, शीर्ष नेताहरु महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल कुमार झा लगायतलाई छुट्टाछुट्टै भेटी सबै मन्त्रीहरुलाई हटाउन माग गरेका छन् ।

जसपाका प्रदेश २ सांसदहरु मनिष सुमन, उपेन्द्र महतो, विदेश्वर यादव, बाबुलाल साह, किशोरी यादव, शारदा शंकर, पारस साह, प्रह्लाद गिरी, अशोक यादव, रमेश पटेल, कौशल यादव लगायतले केन्द्रीय कार्यकारिणी समितिका मुख्य नेताहरुलाई डेलिगेशन दिएका हुन् ।

यता, प्रदेश २ का मन्त्रीहरु जितेन्द्र सोनल, रामनरेश राय र नवलकिशोर साहले अध्यक्षद्वय ठाकुर र यादवलाई सामूहिक रुपमा भेटी आफूलाई मन्त्रीबाट नहटाउन अनुनय–विनयका आर्थिक प्रलोभन पनि देखाइरहेको चर्चा पार्टीमा व्यापक छ ।

ती मन्त्रीहरु अध्यक्षद्वयसँग सामूहिक पनि भेटिरहेका छन् भने एक्लाएक्लै पनि भेटिरहेको पार्टीनिकट स्रोतले बताएको छ । पार्टीप्रति जिम्मेवार नेता कार्यकर्ताहरुले नेतृत्वलाई लोभलालचमा नफँसी पार्टी जोगाउन मन्त्रिमण्डल परिवर्तनको विकल्प नरहेको माग गरिरहेका छन् ।

मन्त्रीहरुले आफूहरुको निरन्तरताका लागि जति पनि आर्थिक प्रलोभन दिन सक्ने स्रोतको दाबी छ ।

ती मन्त्रीहरु अध्यक्षद्वयलाई लोभलालचसमेत दिइरहेको स्रोतको दाबी छ । प्रदेशका मन्त्रीहरु पूर्णरुपमा मधेश आन्दोलन र मधेशी शहीदलाई बदनाम गरिरहेकोले अविलम्ब मन्त्रिपरिषद्मा फेरबदल हुनुपर्ने माग ती सांसदहरुको छ ।

डेलिगेशन दिने सांसदहरुले प्रदेशमा मन्त्रीहरुको कार्यशैलीका कारण प्रदेश सरकार बदनाम भएको, भ्रष्टाचारले चरम सीमा नाघेको, जातिवाद मौलाएको, आर्थिक चलखेल गरेकोले पार्टीको जनाधार बिग्रिरहेको, संघीयता विरुद्ध जनमत तयार भइरहेकोले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रदेश २ का सांसद (राजपाबाट) विदेश्वर यादव (बिक्की)ले आफूहरुले सम्पूर्ण मन्त्रिमण्डल नै परिवर्तनका लागि पार्टीका शीर्ष नेतृत्वलाई भेटेरै दबाब दिएको कुरा मधेशवाणीलाई बताएका छन् । उनले भने, ‘प्रदेश २ का सरकारबाट अलिकति पनि सन्तुष्ट हुने ठाउँ छैन । अहिलेसम्म जनताले महसुस गर्ने एउटा पनि काम यो सरकारले गर्न सकेन । त्यसैले हामी सबैलाई हटाएर नयाँ अनुहार आउनुपर्छ ।’

यसैगरी, जसपाका नेता डा.विजय कुमार सिंहले पनि प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मधेशवाणी रेडियो कार्यक्रममा डा.सिंहले प्रदेश २ को सरकार पूर्णरुपमा असफल देखिएकोले नेतृत्वले गहिरो समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ