प्रदेश २ मा कोरोना संक्रमित संख्या १०३ पुग्यो

समाचार

5/16/2020

जनकपुरधाम, ३ जेठ । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ९९ थियो भने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ संक्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना संक्रमितको संख्या अब १०३ पुगेको हो ।

थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन् । धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको संक्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको थियो ।

यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना संकलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ ।

दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट ट्रेसिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब संकलन भइसकेको र ३६० जनाको स्वाब संकलनकार्य जारी छ ।

यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब संकलन गरिएको छ । रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब संकलन भइरहेको छ ।

सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब संकलन तयारी गरिएको छ ।
यस प्रदेशमा कोरोनाबाट सक्रमित ९६ जनाको उपचार भइरहेको छ ।

सोमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ