काठमाडौं, १६ साउन । नेपालमा लकडाउन लगभग पूर्ण रुपमा हटेसँगै त्यसको असर सर्वत्र देखिन थालेको छ । कोरोनो नियन्त्रणका लागि चैत ११ बाट लकडाउन लगाएको केन्द्र सरकारले साउन १ गतेबाट क्रमशः खुकुलो पार्दै लागेको छ । लकडाउन हटेसँग कोरोना संक्रमति र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।
पछिल्लो समय बिहीबारसम्म देशभर संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ भने अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । प्रदेश २ मा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ ।
प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा लक्षणसहितको भाइरस देखिन थालेकाले उपकरण तयारीमा विशेष ध्यान दिनुपर्ने बताउँछन्
पहिला अन्यत्रबाट संक्रमण फैलिने डर थियो अहिले आफ्नै ठाउँमा फैलिने डर रहेको बताउँदै उनले भने, ‘कुनै न कुनै घरका व्यक्ति कुनै न कुनै कामका लागि बजार जान्छन् । तर, ती मान्छे बाहिरबाट संक्रमित भएर आए आफ्नो घरका बालबच्चालाई सार्न सक्छन् । बालबच्चा अर्काको घरमा खेल्न गए त्यहाँ सार्न सक्छ, त्यसैले यो डरलाग्दो स्थिति हो ।’
योबेला गम्भीरतापूर्वक ध्यान नदिइए र सावधानी नअपनाइए ठूलो मूल्य चुकाउनुपर्ने बताउँछन् डा. साह । यसका निम्ति तीनवटै तहको सरकारले चनाखो हुँदै तयारी गर्नुपर्ने उनको सुझाव छ ।
सर्वसाधारणले पनि आफ्नो बानी, व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ अन्यथा कोरोना यो प्रदेशको सबैतिर सर्न सक्छ ।
राजविराज र वीरगञ्जमा सन्त्रास
प्रदेशको पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्ज पछिल्ला दिन कोरोना संक्रमणका कारण आक्रान्त बनेको छ । यी दुवै शहरमा भारतबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि दुवै शहरमा लकडाउन गरिएको छ । बीचका अन्य शहर र जिल्ला भने त्रसित भएका छन् ।
यता, धनुषाको शहीद नगरपालिकाको डुमरियामा १ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएपछि यहाँ पनि समुदायस्तरमा संक्रमण फैलिने त्रास छ । प्रदेश २ को आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । सबै जिल्ला भारतीय सीमासँग जोडिनु, ३ प्रतिशत भू–भागमा रहेको प्रदेशमा २० प्रतिशत जनसंख्या रहनु, वैदेशिक रोजगारीमा यही प्रदेशका बढी रहनु र सबैभन्दा गरिबी रहेका कारण यो प्रदेश कोरोनाको बढी जोखिममा रहेका छन् ।
यी कारणले गर्दा यहाँ संक्रमण बढी फैलिन डर छ , पहिलो चरणमै नियन्त्रण गर्नका लागि लकडाउन गरिए पनि त्यसबेला नियन्त्रण हुन सकेको थिएन ।
पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । विगतमा संक्रमितहरुमा लक्षण खासै नदिए पनि अहिले भने लक्षणसमेत देखिन थालेको छ । अधिकांशमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता लक्षणहरु देखिन थालेका छन् ।
समुदाय स्तरमा कोरोना फैलिएको ठहर गर्दै पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो यहाँका चिकित्सकहरुको छ ।
दुर्भाग्य नै मान्नुपर्छ, साउन १ गतेपछि मात्रै पनि जुन तयारी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । न केन्द्र सरकार, न प्रदेश, न स्थानीय सरकार वा स्थानीय प्रशासन जिम्मेवार भएर प्रस्तुत भइरहेको छ । संक्रमण पुष्टि भइसकेका २८ जनालाई आइसोलेसन गर्न सकिएको छैन । २८ जना बाहिर हुँदा पनि उनीहरुलाई आइसोलेसनमा राख्न आवश्यक तयारी छैन । संक्रमित घर टोलमा डुलिरहेका छन् । नगर प्रमुख र स्थानीय प्रशासन आ–आफ्नै तालमा हिँड्न खोजिरहेका छन् । आपसमा समन्वयको अभाव छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकिरहेको छैन । जनशक्तिको अभावमा विगतमा पनि यसमा कमजोरी भएकै हो ।
गण्डक अस्थायी कोरोना अस्पतालमा जम्मा दुईवटा भेन्टिलेटर छ । बिरामी सिकिस्त हुँदा कहाँ राख्ने ? अहिलेको स्थितिलाई हेर्दा मास टेस्टिङ गर्दा तीन सय जनामा मात्रै संक्रमण देखियो भने ६० प्रतिशतमा लक्षण देखिने हुन सक्छ । तीन सयको हाराहारीमा संक्रमितलाई अक्सिजन सहितको बेड आवश्यक पर्छ ।
वीरगञ्जको अवस्था निकै नै चुनौतीपूर्ण र असमान्य छ । नागरिक समाजको काँधमा जिम्मेवारी थपिएको छ । सरोकारवाला सबै निकायबीच आपसी सहकार्य गर्नुको विकल्प छैन ।
उता तर २ साउनमा सप्तरीका ७२ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो । श्रीमतीको उपचारका लागि भारत गएका उनी परिवारसहित २० असारमा घर फर्किएका थिए ।
७२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य र पसलमा काम गर्नेसहित १९ जनाको स्वाब संकलन गरेर परीक्षण गरियो । उनका परिवारका ५ जना र कार्मचारी र व्यापारिक साझेदारसहित ७ जना पोजेटिभ देखिए ।
मृतकका ६७ वर्षीया पत्नी, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाति र ११ वर्षीया नातिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यस्तै उनका ग्यास पलसमा काम गर्ने ४९ वर्षीय पुरुष र कलेजका साझेदार ३७ बर्षका पुरुषमा संक्रमण देखियो ।
अस्पतालका नर्समा समेत संक्रमण भेटाएपछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी स्वाब संकलन गरिएको छ । कर्मचारीमा संक्रमण देखिएन, तर इमर्जेन्सीका एक जनामा संक्रमण भेटियो ।
त्यसपछि कट्याक ट्रेसिङको दायरा बढाएर आसपासका छिमेकी लगायतको स्वाब संकलन गरियो । मृतकका छिमेकी ५७ वर्षीय पुरुष र उनकी ४७ वर्षीया पत्नी पनि संक्रमित भएको पुष्टि भयो ।
कन्ट्याक्ट ट्रेसिङ्कै क्रममा भारतबाट आएलगत्तै वृद्धलाई भेट्न राजविराज ३ का एकजना गएको खुल्न आयो । ६३ वर्षीय पुरुषमा मात्र होइन, २३ वर्षीय छोरा र ३२ वर्षीय भतिजा पनि पोजेटिभ पाइए ।
मृतककै घर अगाडि रहेको चिया नास्ता पसलका सञ्चालक पनि सम्भावित संक्रमितको सूचीमा परे । परीक्षण गर्दा उनीसँगै परिवारका चार सदस्यमा संक्रमण पुष्टि भएको छ । वृद्धको सम्पर्कमा आएका राजविराज ७ का ७० वर्षीय वृद्ध र वडा नम्बर ६ का ४० र ४३ वर्षीय पुरुष पनि पोजेटिभ देखिएका छन् ।
‘अहिलेसम्म सम्पर्कमा आएका २९ जनामा कोरोना संक्रमण देखिएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भने, ‘यो समुदायमा कोरोना फैलिसकेको लक्षण हो ।’
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा २९ जनामा भेटिएको संक्रमणको स्रोत ७२ वर्षीय वृद्धको परिवार भएको बताउँछन् । उनले भने, ‘उहाँहरु भारतबाट आउनुभएको थियो । परिवारको कुनै सदस्यमा संक्रमण थियो र, त्यहीबाट अरुमा स¥यो । र, समुदायमा पुगेको देखिन्छ ।’
यसरी एउटै व्यक्तिबाट धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिनु डरलाग्दो अवस्था हो । अब पूर्ण लकडाउन गरेर समुदाय स्तरमा व्यापक परीक्षण गर्नु बाहेक अर्को विकल्प नरहेको विज्ञहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया