काठमाडौं, ६ चैत । कोरोना भाइरसको संक्रममणबाट जोगाउन प्रदेश २ सरकारले तयारी थालेको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको संक्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिए ।
प्रदेश २ मा हालसम्म एक जनामा पनि कोरोनाको संक्रममण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको हो । यसैगरी कोरोनाको संक्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ । विभिन्न पालिकामा पनि हेल्थ डेक्स सञ्चालनको काम अगाडि बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइसोलेशन बेड तयार भएका अस्पतालहरुमा संक्रमितलाई उपचार गर्ने ड्रेस पीपीई र तापक्रम नाप्ने थर्मल गन समेत उपलब्ध छन् । जानकी मेडिकल शिक्षण अस्पताल, प्रादेशिक अस्पताल जनकपुर र नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्जमा २–२ वटा पीपीई ड्रेस र १–१ थान थर्मल गन उपलब्ध गराइएको छ। नेश्नल मेडिकल शिक्षण अस्पताल वीरगञ्जलाई दुईवटा पीपीई ड्रेस मात्र उपलब्ध गराउन सकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेश २ भित्रको नेपाल–भारत सीममा २३ ठाउँमा स्वास्थ्यकर्मीसहितको चेकपोष्ट डेस्क सञ्चालनमा छन् ।
प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमितको उपचारको लागि वरिष्ठ चिकित्सक डा.कुल्दीप पण्डितको संयोजकत्वमा ५ सदस्यीय चिकित्सक टोली गठन पनि गरिएको छ । प्रदेश २ का कोरोना भाइरसको संक्रमण रोक्न पहिलो पटक माघ १९ गते प्रदेश २ भित्रका ११ वटै अस्पताल, आठ वटै जिल्लाका स्वास्थ्य कार्यालयको बैठक बसेको थियो । छलफलबाट पालिकाहरुसँग समन्वय गरी कोरोना भाइरसबाट बच्न सचेतना फैलाउने, ८ वटै जिल्लामा प्रदेशभित्रका नेपाल–भारत नाकामा हेल्प डेस्क राख्ने निर्णय गरिएको थियो ।
त्यस्तै फागुन २० गते प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा बैठक बसी कोरोना भाइरसको विषयमा छलफल गरी संक्रमण रोक्न अपनाइने सावधानी, सचेतना र संक्रमण देखिए उपचार गर्न चाहिने साधन श्रोतको व्यवस्थापन विषयमा छलफल भएको थियो । भारतमा कोरोनाको संक्रमण देखापरेको र खुला सिमाना भएका कारणले सीमाक्षेत्रमा निगरानी बढाउने काम भइरहेको अधिकारीहरुको भनाइ छ । त्यसैगरी कोरना भाइरसबाट सतर्कता अपनाउनका लागि नै सरकारी विद्यालयमा चैत ६ गतेसम्म वार्षिक परीक्षा सक्ने गरी परीक्षा शुरु भएको छ ।
तपाईको प्रतिक्रिया