जनकपुरधाम, ७ साउन । प्रदेश २ मा आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण २ सय १९ घरधुरीका ८ सय ४५ जना विस्थापित भएका छन् ।
बाढीको उच्च जोखिममा रहेको प्रदेश २ मा दुई दिनमै ८ सय ४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
बाढी आउँदा सप्तरीमा सबैभन्दा बढी १ सय ५० घरधुरीका ४ सय ५० जना विस्थापित भएका छन् भने २ वटा घरमा क्षति पुगेको जाएको छ ।
त्यस्तै सर्लाहीमा ४६ वटा घरका २ सय ५५ जना विस्थापित भएका छन् भने एउटा घरमा क्षति भएको छ । उता रौतहटमा २३ वटा घरधुरीका १ सय ४० जना विस्थापित भएका छन् भने त्यहाँ एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै महोत्तरीमा २, बारामा १ र पर्सामा २२ वटा घरमा क्षति भएको प्रहरी प्रवक्ता मिश्रले बताए ।
प्रदेश २ मा अहिले बाढीलाई मध्यनजर गर्दै उद्धारका लागि २ हजार ८ सय १० जना प्रहरीलाई परिचालन गरिएको छ भने ९ सय ६० जनालाई स्ट्याण्डवाई राखिएको छ ।
बाढीबाट उद्धारको लागि सप्तरीमा ३ सय ७०, सिरहामा ३ सय ४०, धनुषामा ३ सय ६०, महोत्तरीमा २ सय ९५, सर्लाहीमा ३ सय ८०, रौतहटमा ३ सय ९०, बारामा ३ सय ३० र पर्सामा ३ सय ४५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया