प्रदेश २ मा मलको व्यवस्था गरिदिन संघीय सरकारलाई आग्रह

समाचार

6/22/2020

जनकपुरधाम, ८ असार । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।

मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गरी देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केही दिनमै मनसुन सक्रिय हुने हुँदा रोपाइँका बेला पर्याप्त परिमाणमा डीएपी र युरिया मल आवश्यक रहको जनाएको छ ।

देशमा वर्षेनी ७ लाख मेट्रिक टन मल आवश्यक रहकेमा ३ लाख मेट्रिक टन प्रदेश २ लाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउन मन्त्री शैलेन्द्र साहले आग्रह गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यो कुराको बोध संघीय सरकारलाई समेत भएको हुनुपर्ने कुरामा म विश्वस्त छु । मलको उपलब्धताका लागि मल कारखाना स्थापना गर्न पनि संघीय सरकारसँग आग्रह गर्दछु ।’

प्रदेश २ मा धानबालीका लागि मात्र करिब १ लाख मेट्रिक टन मल आवश्यक रहेकाले अहिले संघ सरकारले प्रदेश २ लाई उपलब्ध गराउने मल पर्याप्त नहुने निश्चित रहेको बिज्ञप्तीमा भनिएको छ । ‘रोपाइँपछि माथिबाट छर्कने बेला अझ बढी परिमाणमा मलको आवश्यक्ता हुन्छ । यस बिषयमा समेत हामीले संघ प्रशासनका सरोकारबालाहरुलाई अवगत गराएका छौं’, मन्त्री साहले भनेका छन् ।

यसअघि संघ सरकारले बिभिन्न लटमा आपूर्ती गरेको मल प्रदेश २ मा कम आएको र अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

‘डीएपी, युरिया र पोटास भण्डारण गरी बढी मूल्यमा बिक्री बितरण गर्नेहरुको पहिचान गरी किसानलाई निर्धारित मूल्यमा सरल ढँगले मल उपलब्ध गराउनका लागि संघीय गृह प्रशासनको गम्भीरता आवश्यक छ’ विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ