कपिलवस्तु, ३० बैशाख । प्रदेश नं ५ का कोरोना प्रभावित जिल्लाका विभिन्न स्वास्थ्य संस्था र चहलपहल हुने स्थानमा कन्टेक्टलेस हेण्ड वास स्टेशन जडान गरिएको छ ।
रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा गरी १५ स्थानमा उक्त स्टेशनहरु जडान गरी प्रयोगमा ल्याइएको छ । युनिसेफ नेपालको सहयोग पिस नेपाल कपिलवस्तुको आयोजना र विभिन्न अस्पताल तथा स्थानीय तहको समन्वयमा जडान गरिएको हो ।
कोरोना प्रभावित क्षेत्रमा सुरक्षित तबरले हातले धारा नै नछोइकन खुट्टाले थिचेर हात धुने व्यवस्था मिलाइएको छ । रुपन्देहीको कोरोना विशेष अस्पताल बुटवल, भिम अस्पताल, भैरहवा, सिद्धार्थनगर नगरपालिका, कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवा, पिपरा अस्पताल वाणगगा, शिवराज अस्पताल बहादुरगंज र लवनी स्वास्थ्य चौकीमा जडान गरिएको छ ।
त्यस्तै बाँकेमा नेपालगंगज उपमहानगरपालिकाका भेरी प्रादेशिक अस्पताल, जमुनिया नाका, जिल्ला प्रशासन कार्यालय परिसर लगायत ८ स्थानमा जडान गरिएको छ ।
कोरोना प्रभावित स्थानमा यो वास स्टेशन जडान भएपछि कोरोना रोकथामका लागि सहज हुने नेपालगंज उपमहानगरपालिकाका मेयर डा.धवल समशेर राणाले बताए ।
त्यस्तै, स्वास्थ्य संस्थामा आउने सेवाग्राहीले हात धोएर अस्पताल परिसर जाँदा स्वास्यकर्मी र विरामीलाई समेत विभिन्न फोहोर तथा कोरोना सर्ने मुख्य माध्यम हातको सूरक्षा हुने कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन डा.गणेश क्षेत्रीले बताए ।
पिस नेपाल संस्थाले युनिसेफ नेपाल तथा स्थानीय तह र स्वास्थ्य संस्थाको सहकार्यमा यस्तो कार्य गरेको कार्यक्रम संयोजक विजय अधिकारीले बताए ।
कपिवस्तु, रुपन्देही र बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण बुद्धि हुन लागेकोले सचेतना र सावधानी अपनाउन विभिन्न निकायले काम गर्न जरुरी देखिन्छ ।
तपाईको प्रतिक्रिया