प्रधानमन्त्री ओलीले अरुमाथि आरोप लगाउनुभन्दा पहिला आफूतिर हेर्नुपर्छ : शिवकुमार मण्डल

समाचार

7/6/2020

काठमाडौं, २२ असार । नेकपाभित्र अहिले उत्पन्न भएको विवादबारे नेताहरुबीच गहनरुपमा छलफल भइरहेको छ । आफूभित्र भएका त्रुटिहरुलाई विधिसम्मत तरिकाले हल गर्ने गरी छलफल र बैठकहरु भइरहेका छन् ।

नेकपाका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले सरकारका केही विवादित कामहरु, सरकारको कार्यशैलीहरु बारे उठेको प्रश्नहरुको जवाफ देहिता सिंगो पार्टीले दिनुपर्ने भएकोले त्यस्ता गतिविधिहरुलाई पार्टीले जसरी पनि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

पार्टीको स्थायी समिति बैठकले त्यस्ता कुराहरुलाई व्यवस्थित गर्नुपर्ने, सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन, पार्टीभित्र अनुशासन कायम गर्न र पार्टीलाई पद्धतिअनुसार अगाडि बढाउनका निम्ति स्थायी समितिको बैठक जारी रहेको अवस्था छ । तथापि स्थायी कमिटीको बैठकले यी सबै कुरालाई समाधान गर्न सकेको छैन ।

जारी रहेको स्थायी समितिको बैठकमा अनेकौं प्रश्नहरु उठेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने आवाजहरु उठेका छन् । प्रधानमन्त्रीले कतिपय कामकारबाहीको हिसावले प्रभावकारी हुन सकेन ।

केन्द्रीय कमिटी सदस्य मण्डलले भनेका छन्, ‘उहाँको स्वास्थ्यमा पनि समस्या छ । त्यसैले अब उहाँलाई आराम गर्न दिने भन्ने कुराहरु पनि आएका छन् । तसर्थ, यस्ता कुराहरु उठ्नु स्वाभाविक पनि हो । नेकपा पार्टीको नेतृत्वको सरकार भएकोले यो कुनै एकजनाको असफलता भएन सिंगो पार्टीमाथि प्रश्न उठ्छ ।’

‘सरकारको सफलता र असफलतासँग सिंगो पार्टीकै नाम जोडिएकोले यसमा पार्टीले अनुशासनभित्र रहने गरी सरकारको काम र गतिलाई अगाडि बढाउनुपर्ने हुन्छ । सरकारको तर्फबाट केही निर्णयहरु हुन गयो जसले गर्दा पार्टीमाथि नै प्रभाव पर्यो । यो छलफलको विषय हो र छलफलकै क्रममा उठेको हो । केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद दुवैबाट राजीनामा गराउने वा नगराउने भन्ने कुराको नीतिगत निर्णय भइसकेको छैन । भोली पार्टीले निर्णय लिने बेलामा जे पनि हुनसक्छ ।’ उनले भने ।

मधेशवाणी रेडियो कार्यक्रममा मण्डलले भनेका छन्ः

पार्टीभित्र विधि, पद्धति र संस्थागत निर्णयभन्दा पनि व्यक्तिवादी प्रवृत्ति हावी हुन गयो । त्यसैले प्रधानमन्त्री ओलीको केही गतिविधि र क्रियाकलाप जो पार्टीको विधिसम्मत छैन त्यस्ता कुराहरुलाई पार्टीले नियन्त्रण गर्न खोजेको हो । यस्ता विषयहरुमा पार्टीको स्थायी कमिटीको बैठक निरन्तर चलिरहेको छ । पार्टीभित्र विभिन्न तहमा छलफल पनि भइरहेका छन् ।

जनताको अपेक्षाअनुसार नेकपाले पाएको म्यान्डेटलाई कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध र सुदृढ भई एक ढिक्का भई अगाडि बढ्नुपर्ने आवश्यकता छ । किनभने अहिलेसम्म पनि जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेको छैन ।

जनताका थुप्रै अपेक्षाहरु छन्, नेकपाको काँधमा धेरै ठूलो जिम्मेवारी रहेको छ । किनकि नेपालका जनताले नेकपामाथि सबभन्दा बढी विश्वास गरेर दुई नजिकको सरकार बनाउने हैसियत दिएको छ । त्यसकारणले नेकपा जिम्मेवार पनि बन्नुपर्छ । सरकार पार्टीको नियन्त्रणभित्र रहनुपर्छ ।

पार्टीलाई बेवास्ता गरेर एकल रुपमा सरकार अगाडि बढ्ने कुराले नै पार्टीलाई हित गर्दैन र समग्र जनताको अपेक्षालाई पूरा गर्न सक्दैन । अहिले जुन किसिमका घटनाक्रमहरु बढ्दै गएको छ, त्यो एकदमै नै दुःखद हो । नेकपाले यस्ता कुराहरुलाई अगाडि बढ्न दिँदैन । त्यसैले त्यस्ता अराजकताहरुलाई नियन्त्रण गर्दै पार्टी एकढिक्का भएर अगाडि बढ्छ । सबै गलत प्रवृत्तिहरुलाई अन्त्य गरेर नै अगाडि बढ्ने स्थिति आउँछ ।

प्रधानमन्त्री ओलीले मदन जयन्तीको कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको आरोप लगाउनु भयो । उहाँले हामीलाई जवाफ दिनुपर्छ कि नेकपा भारतको पार्टी हो ? पार्टीको एउटा जिम्मेवार नेता र देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवार कुरा हो ।

बिना तथ्य र प्रमाण कसैले भारतले हटाउन लाग्यो भन्नु गैरजिम्मेवारीपना हो । आफ्नो पार्टीभित्र उठेको प्रश्नको जवाफ दिन नसक्ने र दोष अर्कोको टाउकोमा थुपारेर आफू बच्न खोज्ने, यो गलत प्रवृत्ति हो । यसले के देखाउँछ भने प्रधानमन्त्री ओलीको दृष्टिकोणमा कहीं न कहीं विचलनता आएको हो ।

यस्ता कुराहरुको कुनै तुक र तथ्य छैन । किनकि नेकपाको बैठकमा अहिले मात्र यस्ता कुराहरु उठेको होइन । प्रधानमन्त्रीको कामकारबाहीबाट पार्टीका नेता कार्यकर्ताहरु असन्तुष्ट छन् । पहिलादेखि उहाँलाई आफ्नो कार्यशैली सुधार्नुस् भनेर पार्टीभित्र आवाज उठ्दै आएको छ ।

उहाँले अहिलेसम्म गर्ने कार्यशैली पार्टीको विधि र पद्धति विपरीत रहँदै आएको भन्दै पार्टीका नेता कार्यकर्ताहरुले सुधार गर्न भन्दै आएका छन् । उहाँमाथि प्रश्न गर्दा जवाफ दिन नसकेर आफूलाई बचाउनका लागि भारतले हटाउन लागेको उहाँले भन्नुभएको हो । हामीले नचाहेसम्म कुनै पनि विदेशी शक्तिले नेपालको सत्ता परिवर्तन गर्न सक्दैन । अरुलाई दोष दिनुभन्दा पहिला आफूतिर फर्केर हेर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ