काठमाडौं, १८ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ ।
कोरोनाको संक्रमण फैलिएसँगै नेपाल आउने पर्यटकको संख्या घटेको छ भने सामान आयात र निर्यात पनि प्रायः ठप्प जस्तै छ । नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभोग्य सामान चीनबाट नै आयत हुने गरेको छ । चीनले उत्पादन गरेको सामान नेपालमात्र होइन विश्वका जुनसुकै देशमा पुग्ने गरेका छन् । त्यसमा पनि नेपाल चिनियाँ उत्पादन धेरै भित्रिने गरेका छन् ।
नेपालको कुल वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतको छ भने दोस्रोमा चीनको छ । ठूलो व्यापार साझेदार चीनसँग आयात निर्यात प्रायm ठप्प भएपछि त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ ।
नेपालमा करिब १५ खर्बको वैदेशिक व्यापार हुने गर्छ । त्यसमा चीनको हिस्सा २ खर्ब भन्दा माथि छ । अहिले नेपाल र चीनबीच आवतजावत बन्द छ । नेपाल र चीनका सीमा नाका गत जनवरीको दोस्रो सातादेखि ठप्प छ । आवातजावतमा प्रतिबन्ध नै लगाइएको छ ।
चीनसगँ सीमा जोडिएका तातोपानी र रसुवागढी नाका बन्द भएको १ महिना भइसकेको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । जसका कारण तेस्रो मूलुक भएर आउने वस्तुहरुको निर्यातमा पनि कमी भएको छ ।
कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने जानकारहरु बताउँछन् । कोरोनाको प्रभाव नेपालको अर्थतन्त्रमा एकदेखि दुई प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरुको अनुमान छ ।
तपाईको प्रतिक्रिया