ललिता निवास प्रकरणमा प्रभु साहसँग स्पष्टीकरण

समाचार

2/24/2020

काठमाडौं, १३ फागुन । पार्टी तथा नेताविरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश २ का पार्टी अध्यक्ष समेत रहेका साहलाई प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न पार्टी सचिवालयको निर्णयअनुसार स्पष्टीकरण सोधिएको हो । ललिता निवास प्रकरणमा साहले फेसबुकमार्फत नेता तथा पार्टीलाई लक्षित गरी अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति पूर्वप्रधानमन्त्री माधवकुमार लक्षित रहेको पार्टीले ठहर गरेको छ । ललिता निवास प्रकरणमा तत्कालीन मन्त्रीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन मन्त्रीलाई मात्र दोषी देखाएर मुद्दा दायर गरेपछि प्रदेश २ का पार्टी अध्यक्षसमेत रहेका साहले तत्कालिन प्रधानमन्त्री पनि दोषी रहेको अभिव्यक्ति दिएका थिए ।

प्रभु साहले फेसबुकमा यस्तो स्टाटस लेखेका थिए :

बालुवाटार–ललिता–निवास–जग्गा–प्रकरण 

कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सहि वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ ।

तर, ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ । प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ? 

यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन । हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो । ‘सानालाई ऐन, ठुल्लालाई चयन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् सक्दैन । तसर्थ यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरूरी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ