पूर्वराजा ज्ञानेन्द्रले कोरोना कोषमा दुई करोड दिने

समाचार

3/31/2020

काठमाडौं, १८ चैत । नोवेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड रुपैयाँ सहयोग गर्ने जनाएका छन् ।

पूर्वराजा शाहले एक सन्देश जारी गर्दै हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारले दिने भएका छन् । उनले सन्देशमा भनेका छन्, ‘देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ ।

नव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान र्पुयाउनु अनिवार्य भइसकेको छ ।’

उनको सन्देशमा भनिएको छ, ‘यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’

पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन् ।

‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौं,’ उनको सन्देशमा भनिएको छ ।

हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएको पूर्वराजा शाहले सन्देशमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ