पर्सामा ८५ संक्रमित, अस्पतालमा ठाउँ अभाव

समाचार

5/14/2020

वीरगञ्ज, १ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि दुईपटक गराइएको परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको परीक्षणमा उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

अस्पतालमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालको आइसोलेसन वार्डमा खटाइएको थियो ।

छत्तीस वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालमा कार्यरत अन्य सबै स्वास्थ्यकर्मी त्रासमा रहेका छन् । बुधबार साँझ परीक्षणमा पोजेटिभ देखिएका तीन जनामध्ये एकजना स्टाफ नर्स रहेकी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

पर्सा जिल्लामा एक स्टाफ नर्स र दुईजना पत्रकारसहित कोरोना संक्रमितको संख्या ८५ जना पुगेको छ । पर्साको सदरमुकाम वीरगञ्ज र पर्साकै विभिन्न ग्रामीण क्षेत्रमासमेत संक्रमित फेला परेका हुन् । पहिले वीरगञ्जमा मात्र पुगेको कोरोना ग्रामीण क्षेत्रमा पुगेको छ । पर्साको जयमङ्गलापुर, सम्झौता, तुलसीवर्वा, धोबिनी र भिस्वामा पनि सङ्क्रमित फेला परेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ