काठमाडौं, ४ जेठ । प्रहरीले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख हरि रेग्मीले प्रतिवेदन अध्ययन गरी मुद्दा चलाउने वा नचलाउने वा अनुसन्धान बाँकी रहे थप अनुसन्धान गर्न फर्काउने बारे निर्णय गरिने बताए । उनले भने, ‘प्रहरीले ल्याएका प्रमाण विश्लेषण गरेर निष्कर्षमा पुग्छौं अनि निर्णय हुन्छ ।’
प्रहरीले सांसद यादवले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्तासहित अन्य अडिओ÷भिडिओ रेकर्ड प्रमाणको रूपमा प्रस्तुत गरेको छ ।
वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका सासंद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए । त्यसअघि वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंले महोत्तरीको घटना भन्दै जाहेरी लिन मानेको थिएन ।
खनाल, बस्नेत र श्रेष्ठले वैशाख १० गते सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लगाएका थिए ।
तपाईको प्रतिक्रिया