प्रहरी प्रतिष्ठान भारतले नै निर्माण गरिदिने

समाचार

7/12/2020

काठमाडौं, २८ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) को ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा बनाउन भारतलाई जिम्मा दिइएको छ । दुई देशबीच सन् २०१४ नोभेम्बर २५ मा भारतले अनुदान उपलब्ध गराउने र भारतसँग परामर्श लिएर नेपालले आयोजना अघि बढाउने समझदारी भएको थियो ।

तर गएको नोभेम्बरमा पुरानो समझदारी संशोधन गरेर कार्यप्रगतिका आधारमा रकम भुक्तानी गर्ने र टेन्डर सूचना मात्रै नेपालले गर्ने गरी आयोजनाको जिम्मा भारतलाई दिइएको हो । अब भारतले नै निर्माण सम्पन्न गरेर आयोजना नेपाललाई हस्तान्तरण गर्नेछ ।

पूर्वगृहसचिव गोविन्द कुसुमले तालिम केन्द्रको संरचना निर्माणको जिम्मा विदेशीलाई दिँदैमा शंकाको दृष्टिले हेर्न नहुने बताए ।

टेन्डरको मस्यौदा भारतको सेन्ट्रल पब्लिक वर्कस डिपार्टमेन्ट (सीपीडब्लूडी) ले बनाएको हो । एकेडेमी निर्माणको डीपीआर पनि सीपीडब्लूडीले नै बनाएको थियो । डीपीआर भारतले ७ महिनाअघि नै नेपाललाई बुझाइसकेको छ ।

डीपीआरअनुसार एकेडेमी ५ हजार ४ सय ९४ दशमलव ६१ मिलियन भारतीय रुपैयाँ (८ अर्ब ७९ करोड १३ लाख ७६ हजार नेपाली रुपैयाँ) मा सम्पन्न हुनेछ । निर्माण सुरु भएपछिको ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनका क्रममा काठमाडौं आएका बेला २०१४ नोभेम्बर २५ मा आयोजना निर्माणबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र समकक्षी मोदीको उपस्थितिमा अर्थ सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह (सीमा सुरक्षा हेर्ने) सचिव स्नेहलता कुमारले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

एकेडेमी निर्माण गर्न नेपाल सरकारले २५.४५ हेक्टर जमिन उपलब्ध गराउने समझदारी छ । तर प्रतिष्ठानकै लागि भनेर ४२.४ हेक्टर जमिन अधिग्रहण भइसकेको छ । काभ्रेको पनौती नगरपालिका–६ सुनथानरदलिञ्चोकमा एकेडेमी निर्माणकै लागि २०५२ सालदेखि जग्गा अधिग्रहण तथा खरिद थालिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ