बाँके, २८ कार्तिक । नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरबाट कटुवा पेस्तोल १ थान सहित डडुवा गाउँपालिका–४ उचामसाह बस्ने ३२ वर्षीय मेराज अली सैयदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सल्यानी बंगलाबाट बसपार्कतर्फ जाँदै गरेको भे.१ स ८३२६ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा रिक्सामा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी रिक्सा चालक सैयदलाई पक्राउ गरेको हो ।
त्यस्तै चितवन, राप्ती नगरपालिका–६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसीर सल्यान रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।
उक्त स्थानमा बा.८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा हिँडिरहेका उनीहरुले ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया