कपिलवस्तु, ११ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको सातौ नगरसभाले कोरोना भाइरसबाट प्रभावित बनेका नगरवासीहरुको आयआर्जनमा टेवा दिन रोजगारमूलक कार्यक्रम गर्ने नीति लिएको छ ।
कोरोना प्रभावित तथा अन्य बेरोजगार युवालाई स्वरोजगारको बाटोतर्फ उन्मुख गराउन नगरपालिकाले एक प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्ने भएको छ ।
बुधबार सातौ नगरसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख केशवकुमार श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यमशिलतामार्फत स्वरोजगार बन्न चाहनेहरुलाई यो व्यवस्था गर्न लागेको जानकारी गराए ।
नगर प्रमुख श्रेष्ठले त्यसका लागि बैंक तथा सहकारी मार्फत कम्तीमा १ प्रतिशत ब्याजमा कम्तिमा दुई वर्षसम्मका लागि दिने व्यवस्था गर्न लागेको बताए । यसको कार्यविधि तत्काल बनाइने पनि उनले बताए ।
यस्तै बेकरी, ब्लक, जुत्ता बनाउने, सिलाई पसल, टपरी उद्योग सञ्चालन गर्न चाहनेका लागि ५० हजार अनुदानको व्यवस्था नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको श्रेष्ठले जानकारी गराए ।
उत्पादनमा आधारित अनुदानमार्फत माछा, खसी बोकामध्ये कुनै एक तथा तरकारी र फलफूलमध्ये कुनै एकमा अनुदान दिने नगर प्रमुख श्रेष्ठले घोषणा गरेका छन् ।
नगरको उपयुक्त स्थानमा सहकारी मार्फत कोसेली घर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने समेत बताइएको छ ।
नगरपालिका क्षेत्रभित्र फलफूल खेती विस्तारका लागि आँप/लिची र कागती खेती गर्न इच्छुक कृषकलाई अनुदानमा फलफूलको बिरुवा उपलब्ध गराउने योजना समेत सभामा पेश गरिएको छ ।
यस्तै व्यावसायिक पशु फर्म व्यवस्थापन प्रोत्साहन कार्यक्रमतर्फ अनुदान उपलब्ध गराउने, वैदेशिक रोजगारबाट फर्किएका युवाको अभिलेखिकरण तथा उद्यमशीलता प्रवद्र्धन, एक घर, एक करेसाबासी तथा एक गाउँ एक उत्पादनमा जोड, सिंचाईका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटनमा अनुदान, निरन्तर बजार अनुगमनलगायत नीति तथा कार्यक्रममा उल्लेख छन् ।
सभामा उप प्रमुख मिरा थारुले सामाजिक क्षेत्रमा रुपान्तरण हुने गरी कार्यक्रमहरु तयार भएको र केही दिनमा अन्तिम रुप दिएर बजेट सार्वजनिकीकरण गरिने बताइन् ।
तपाईको प्रतिक्रिया