काठमाडौं, २३ साउन । बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिज जहाजमार्फत परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरी दुवै तर्फबाट उडान तथा अवतरण गरेको हो ।
कम्पनीले जनाएअनुसार जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।
चैत ११ अघि दैनिक ७÷९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ देखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।
नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाइ ११९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिड हुने गर्छ । बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन् ।
भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्यान्ड स्यानिटाइजर, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागु गरेको छ ।
यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया