काठमाडौं, २६ साउन । नेपालले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको स्पष्ट गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो ।’
भारतीय विदेश मन्त्री एस. जयशंकरले दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्वारा शनिबार आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए ।
जयशंकरको भनाईमा प्रतिक्रिया दिँदै परराष्ट्रले आफ्ना आधिकारिक प्रवक्ताको नामबाट जारी गरेको विज्ञप्तीमा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेको उल्लेख गरिएको छ ।
‘यो सत्य हो कि बुद्धले नेपालबाट विश्वमै बुद्धिजम फैलाए । त्यसैले यो कुरालाई कुनै पनि दुविधा वा विवादको रुपमा छलफल गर्न सकिन्न । सम्पूर्ण विश्व नै यस विषयमा जानकार छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया