बम बिस्फोट काण्डका आरोपित दुई जना पक्राउ

समाचार

6/24/2020

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय रौतहटले बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाइ बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपाका प्रदेश २ कमिटीका सदस्य इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र उनका साथी दिलिप कुमार साह छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार सरोबर र उनको साथी साहलाई दश वर्ष अघि यात्रुबाहक बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो ।

२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना व्यक्ति घाइते भएका थिए ।

सो विष्फोटको जिम्मा तत्कालिन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ती मोर्चाले लिएको थियो । गौर–चन्द्रनिगाहपुर सडकखण्डको हजमिनियामा भएको बम विष्फोटको आरोपमा प्रहरीले घटना पश्चात फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि कसुर बमोजिमको सजायँको लागी जिल्ला अदालत रौतहटमा लग्ने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ