बेलहिया नाकामा भारतीय नागरिक अलपत्र

समाचार

6/2/2020

रुपन्देही, २० जेठ । रुपन्देहीको अल्फा ईंटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण भट्टा सञ्चालकले सबै मजदुरलाई घर फर्कन भनेपछि परिवारसहित पैदलै घरतर्फ फर्कने क्रममा उनीहरु सीमामै रोकिएका छन् ।

भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन् । करिब सात हजारभन्दा बढी भारतीय नागरिक सीमावारि नेपालतर्फ रोकिएका छन् ।

स्वदेश फर्कन नेपालतर्फ सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकलाई सीमा क्षेत्रका नेपालीले उद्धारको काम गरिरहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले बताए ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा मात्रै २१० भट्टा रहेका छन् । ती भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेका छन् । एउटा उद्योगमा १०० भन्दा बढी मजदुर काम गर्ने गर्दछन् । दशैँतिहारपछि आएर वैशाखको दोस्रो सातादेखि घर जाने मजदुर खेतीपातीका लागि घर फर्किन थालेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भारततर्फको प्रक्रियागत ढिलाइका कारणले मजदुर रोकिराखेको बताए । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नेपालमा काम गर्ने भारतीय मजदुरको व्यवस्थापनमा नगरपालिकाले विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरी उद्धार गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ