विराटनगर, १० साउन । विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान संकायको भवन उद्घाटन भएको छ ।
काठमाडौंस्थित भारतीय दूतावास र जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको यस परियोजनाका लागि भारत सरकारले ४ करोड ४३ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको हो ।
यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पु¥याउने जनाइएको छ ।
सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७९८.७ करोड आर्थिक अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको छ ।
सन् १९५५ मा स्थापना भएको यस क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस हो । नवनिर्मित दुई तले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष रहेका छन् ।
तपाईको प्रतिक्रिया