काठमाडौं, ७ चैत । महाकाली सन्धि भएको अढाई दशकपछि भारतले महाकाली सिँचाइ आयोजनामा तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा नहर निर्माण सुरु भएको छ । टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म नहर निर्माणको काम सुरु गरिएको हो ।
महाकाली सन्धिअनुसार भारतीय भूभागमा पर्ने १ हजार २ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्ने हो । सन्धि भएको अढाई र नेपालतर्फ नहर निर्माण सुरु भएको डेढ दशकपछि भारतीय पक्षले आफ्नो क्षेत्रमा काम थालेको हो ।
टनकपुर जलविद्युत् आयोजनाको जलाशयबाट नेपालतर्फको नहरमा पानी दिने सतहका विषयमा विवाद भएका कारण भारतीय भूभागमा नहर निर्माणको काम अघि बढ्न सकेको थिएन । पछिल्लो पटक प्राविधिक रूपमा सहमति भएसँगै नहर निर्माणको काम अघि बढेको हो ।
टनकपुर बाँधको जलाशयको २ सय ४४ दशमलव २५ मिटर उचाइबाट नेपालले सिँचाइका लागि पानी प्राप्त गर्नेछ । जलाशयमा पानीको सतह २ सय ४६ दशमलव ७ मिटरसम्म रहने गरेको छ ।
‘भारतले आफ्नो क्षेत्रमा काम सुरु गरेपछि नेपाललाई पनि नहर निर्माणको गति बढाउनुपर्ने दबाब बढेको छ । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खामा एक हजार क्युसेक र हिउंदमा साढे तीन सय क्युसेक पानी प्राप्त गर्नेछ ।
१ सय ५१ किमि मूल नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३५ हजार हेक्टरभन्दा बढी जमिनमा सिंँचाइ सुविधा पुग्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको लक्ष्य छ ।
तपाईको प्रतिक्रिया